रामेछाप । मङ्सिर २९ गते ,
देशभर जस्तै रामेछापमा पनि सरकारका विरुद्धमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । सोमबार जिल्ला सदरमुकाम मन्थली स्थित भैसेश्वर चोकबाट सरकारका विरुद्धका विभिन्न नाराका साथ सुरु भएको विरोध र्यालीले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको सभामा बोल्ने नेताहरुले बताउनुभयो । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , पुर्व सभापति रामचन्द्र खड्का , महासमिति सदस्य ध्रुवराज लामा , अर्जुन केसी , भरत चौलागाई , पुर्ण बहादुर तामाङ(कान्छाराम), रत्न कार्की,जित बहादुर थापा मगर लगायत नेताहरुले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले पाइला पाइलामा जनतामाथि खेलवाड गरिरहेकाले त्यसका विरुद्धमा देशभरका कांग्रेस जागेको बताउनुभयो । सरकारका विरुद्धमा प्रदर्शन गर्न जिल्लाभरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सदरमुकाम मन्थली आएका छन् । यसअघि आइतबार साँझ पनि सदरमुकाम मन्थलीमा कांग्रेसले सरकारका विरुद्धमा सिटी जुलुस गरेको थियो । मन्थलीको विपी चोकबाट सुरु भएको जुलुसले मन्थली बजार परिक्रमा गरी गरेको थियो ।
