रामेछाप । जेठ १५ गते,
रामेछापका दलित अधिकारकर्मी तथा संघ संस्थाहरुले पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ८ सोतीमा जातीय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न र घटनामा परी ज्या*न गुमाएकालाई साँस्कृतिक शहिद घोषणा माग गरेका छन् । जिल्लामा रहेर दलित अधिकारका लागि काम गरीरहेका विभिन्न संघसंस्थाहरुममा आवद्ध आदलित अधिकारकर्मीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री संग यस्तो माग गरेका हुन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा मार्फत गृहमन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भइ जातीय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भइसकेको वर्तमान अवस्थामा अन्तरजातिय प्रेम सम्बन्ध राखेकै कारणले युवायुतीको ह*त्या हुन भनेको मानव अधिकार विरुद्धको निकृष्ट ज्यादति र मानवअधिकार विरुद्धको जघन्य अपराध भएकाले घटनका दोषीलाई तत्काल छानबिन गरी हदैसम्मको कारबाहिको दायरामा ल्याउन, घटनामा ज्या*न गुमाएका नवराज विक, लोकेन्द्र सुनार, टिकाराम विक र गणेश बुडामगरलाई साँस्कृतिक शहिद घोषणा गर्न, बेपत्ता दुई जना युवाको स्थिति सार्वजनिक गर्न एवं पीडित परिवारलाई उचित क्षतिपुर्ती उपलब्ध गराउन र यस्ता पासविक घटना समाजमा नदोहोरिने ग्यारेन्टी गर्न गृहमन्त्री मार्फत नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले दलित अधिकारकर्मीहरुको माग गम्भीरतका साथ सम्बन्धीत निकायमा पुर्याउने बताएकी छिन् । जिल्ला प्रशासन मार्फत गृहमन्त्रालयमा पठाईको ज्ञापनपत्रमा जिल्लामा रहेर काम गर्ने विभिन्न संघ संस्थामा आवद्ध २० जना दलित अधिकारकर्मीहरुले हस्ताक्षर गरेका छन् ।
