रामेछापमा अनलाइनबाटै सवारी सञ्चालन (ई–पास) सेवा

  • प्रकाशित मिति: बुधबार, बैशाख ३ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ३ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनको समयमा अनलाइन सवारी सञ्चालन अनुमति पत्र (ई–पास ) प्रदान गर्ने सेवा सुरु गरेको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्यलाई थप व्यवस्थित गर्न र अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यवस्थित गर्न प्रशासनले बुधबारबाट लकडाउन अवधिभर अनलाइन सवारी सञ्चालन अनुमति पत्र (ई–पास ) सेवा सुरु गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले एक सूचना प्रकाशन गरी लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र (पास) वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउन अनलाइन फारम भरी (ई–पास ) लिने सेवा सुरु भएको जानकारी गराएका हुन् । सामाजिक र व्यक्तिगत दूरी कायम गर्न निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको (ई–पास )epass.moha.gov.np वेबसाइट मार्फत अनलाइन सवारी पास उपलव्ध गराउने व्यवस्था गरिएको जिल्ला प्रशासनले जनाएको छ । जारी सवारी पास आवेदनमा उल्लेखित उद्धेश्य बमोजिम प्रयोग भए र नभएको निरन्तर अनुगमन गरिने र सवारी पासको दुरुपयोग भएको पाइए कानुन अनुसार तत्काल कारवाही गरिने जिल्ला प्रशासनले जनाएको छ । नेपाल सरकार (सचिवस्तर) को गत चैत ३० गतेको निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालय (आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा) को मङ्गलबारको पत्रअनुसार अनलाइन सवारी पास कार्यन्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्याल रामेछापले जनाएको छ ।