काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो । आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलले च्याम्पियन बनेको मच्छिन्द्रले पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको हो ।
फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरे । उनले रञ्जित धिमालको फ्रिकिक क्लियर गर्न खोजेका थिए ।
उनको त्यही गल्तिले आर्मी इतिहास बनाउनबाट चुक्यो । आजको खेलमा आर्मीले बराबरी मात्रै गर्न सकेको भएपनि लिग उपाधि जित्ने अवस्थामा थियो । लिगभरी दुबै टोलीले समान प्रदर्शनमा गरेको भएपनि गत सिजन अन्तिम २ मा रहेका कारण मच्छिन्द्रको यो सिजन एक अंक ऋण बोकेको थियो ।