काठमाडौं । ४० को दशकमा नेपाली संगीतिक क्षेत्रमा उदाएका सुनसरीको धरानका वरिष्ठ गायक निशान भट्टराइको आफैंले चलाएको कार दुर्घटना हुँदा गए महिनाको मंगलबार बिहानै निधन भएको छ । निकै मिठो स्वरका धनी उनी दरबारमार्गस्थित बानथाइ रेष्टुरेन्टका संचालक समेत हुन् । आफ्नै रेष्टुरेन्टबाट घर फर्कने क्रममा उनको मंगलबार बिहान करिब १ बजे काठमाडौंको तीनकुनेमा उनको कार बिजुलीको खम्बामा ठोक्किँदा उनको मृत्यु भएको हो । निशान भट्टराई फेसबुकमा पनि निकै सक्रिय रहन्थे । आफ्नो फेसबुक अकाउन्टमा उनले हाम्रो बानथाई रेष्टुरेन्ट भन्दै विभिन्न व्यक्तित्वसँगको तस्बिर पोष्ट गरिरहन्थे ।
उनको फेसबुकलाई केलाउने हो भने निशानले आफ्नो रेष्टुरेन्टमा आएका गायक, नायक, कलाकार, पत्रकारदेखि समाजसेवी र सर्वसाधारणसँग फोटो खिचेर राख्ने गरेको पाइयो । उनले अन्तिम पटक २७ गते आइतबार दुई व्यक्तिसँगको फोटो पोष्ट गर्दै लेखे, ‘हाम्रो बान थाइ रेष्टुरेन्ट दरबारमार्ग ।’ उनको उक्त फोटोमा आगा लामा नामको फेसबुक अकाउन्टबाट २८ गते यस्तो कमेन्ट आउँछ, ‘हैन निशान दाइ, हाम्रो बानथाइ हाम्रो बानथाइ भन्दै जिन्दगी दरबारमार्ग नै सकाउने हो कि क्या हो…. नाइस ह्यान्डसम दाइ ।’ यसको जवाफमा निशान भट्टराइले लेखेका छन्, ‘हाहाहाहा…. जिना यहाँ मर्ना यहाँ ।’ उनीहरुको यही कमेन्टमा एसआरबी राजभण्डारी नामको फेसबुक अकाउन्टबाट कमेन्ट आएको छ, ‘जे भनेको त्यस्तै भयो ।’

गायिका लोचन भट्टराइका भाइ निशानले स्टेज, विभिन्न रेष्टुरेन्ट, पाँचतारे होटलमा आफ्नो गायकीको जादु छर्थे । उनी नेपाली संगीत क्षेत्रका चिरपरिचित नाम पनि हुन् । नेपालका वरिष्ठ संगितकार न्हू बज्राचार्यले नेपाल आइडलको पहिलो सिजनमा यिनै निशान भट्टराइको नाम लिएका थिए । मोरङ्गका निशान भट्टराइ अडिसनका लागि आउँदा उनले प्रश्न सोधका थिए, ‘निशान भट्टराइ भन्ने पहिले एकजना सिंगर याद छ ?’ गायक निशान सधैं ओझेलमा बस्न मन पराउँथे । निशानको गजलका फ्यान स्वर्गीय नारायण गोपाल र नातीकाजी समेत रहेका थिए । ‘धेरै अगाडि उनी दरबारमार्गको अमर भन्ने गजल रेष्टुरेन्टमा गाउँथे’ वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले भने ‘सो समय म, नारायण गोपाल दाइ, नातीकाजी दाइ र विश्वम्भर प्याकुरेल समेत उनको गजल सुन्न जान्थ्यौँ ।’
निशानसँग आफ्नो धेरै पहिलेदेखि चिनजान भएको बताउँदै बास्कोटाले निशानलाई शालिन स्वभाव, कहिल्यै पनि नराम्रो बोल्न नजान्ने र सहयोगी व्यक्तिको रुपमा उनलाई चिनेको बताए । निशानले शम्भुजितको ‘कृष्ण चोर..’ भन्ने एउटा भजन गाएका थिए । निशानलाई शम्भुजितको संगीतमा गीत गाउने धेरै इच्छा थियो, यसबारे निशानले आफूलाई बारम्बार भन्ने गरेको शम्भुजितले बताए ।
‘दाइ हजुरको संगीतमा गीत गाउनु पर्छ भन्थे । मेरो नेपाली गीतहरुलाई गजल बनाएर रेष्टुरेन्टमा गाउँथे’ बस्कोटाले थपे ‘उनको त्यो सपना अधुरै रह्यो । मैले उनको सपना पुर्याउन सकिनँ ।’ बास्कोटाका अनुसार उनी नारायण गोपालका ‘पर्खीबसेँ आउला भनी’, ‘तिमीले भनेका’लगायत नातीकाजीका थुप्रै चर्चित गीतसमेत गजलको रुपमा गाउँथे ।
नेपाली गजल गीतलाई होटल तथा रेष्टुरेष्टमा समेत स्थिापित गर्न महत्वपूर्ण भूमिका खेल्ने तीन व्यक्तिको नाम लिनु पर्दा उनको नाम पनि आउने बास्कोटाले बताए । केही दिनअघि राजेश हमालको सम्मानमा काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा उनी पनि सरिक थिए । उक्त कार्यक्रममा उनले गायिका देबिका बन्दनासँग ‘भरे आउँछु सपनीमा पर्खी राख है’ भन्ने गीत गाएका थिए । बास्कोटाले पनि निशानलाई अन्तिम पटक राजेश हमालको कार्यक्रममा भेटको बताए ।
गायिका देबिका बन्दनाले पनि निशानलाई शालिन, शिष्ट र सहयोगी बताइन् । केही समयअघि राजेश हमालको कार्यक्रममा सँगै गीत गाएको व्यक्तिको अचानक मृत्यु भएको खबर आफूले पत्याउनै नसकेको देविकाले बताइन् ।
‘निशान पुराना गायक गायिकालाई मात्रै होइन, नयाँलाई पनि धेरै मन पराउँथे । नयाँलाई सधैं साथ दिन्थे समर्थन गर्थे । अगाडि बढाउने कोसिस गर्थे,’ उनले भनिन् । (रातोपार्टीमा लेखिएको यो समाचार पुन पोस्ट गरेका छौ ।)