खिम्तिमा वडाले प्रवाह गरेको सेवा र पुननिर्माण पछिको अवस्थाको विषयमा सार्वजनिक सुनुवाई

  • प्रकाशित मिति: बुधबार, मंसिर ५ २०७५
  • तामाकोसी खबर

रामेछाप । मंसिर ५ गते
लिखु तामाकोसी गाउँपालिका ६ नं वडा खिम्ति रामेछापले प्रवाह गरेको सेवा र भूकम्प पछिको पुननिर्माणको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बुुधबार रामेछापको लिखु तमाकोसी गाउँपालिका वडा नं ६ को वडा कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ ।
वडाकार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), हुराडेक नेपाल दोलखा र रेडियो तीनलाल एफएमको सहजिकरणमा कार्यक्रम भएको हो । वडाअध्यक्ष शिवप्रसाद न्यौपाने, सचिव केहरमान तामाङ, पुननिर्माण प्राधिकरणका इञ्जिनियर अमित कर्ण र प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिका इञ्चार्ज डाक्टर जीवन न्यौपाने प्रमुख जवाफदेही वक्ताको रुपमा रहेको सो कार्यक्रममा वडा सचिव केहरमान तामाङले वडा कार्यालयमा गतवर्ष १ करोड २७ लाखका योजना तथा कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिए । यसैगरि गतवर्ष ४७ हजार रुपैयाँ आन्तरिक राजश्व उठेको पनि उनले जानकारी दिए । यस वर्ष सो वडामा कुल १ करोड ६६ करोड रुपैयाँको कार्यक्रम स्विकृत भएको बताए ।
कार्यक्रममा पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर अमित कर्णले भूकम्प प्रभावितको सूचिमा परेका ८ सय ६८ घरले पलिहो किस्ता, ८ सय ८ घरले दोस्रो र ६ सय ३४ घरले तेस्रो किस्ता रकम लिएको जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज डाक्टर जीवन न्यौपानेले स्वास्थ्य केन्द्रको भनव हस्तान्तरण नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । कार्यक्रमका सहभागिहरुले विषयगत कार्यालयका कर्मचारीहरु वडा कार्यालयमा नियमित नभएका, सडक निर्माण भए पनि यातायात नियमित नभएको, विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्था नहुँदा पठनपाठनमा समस्या भएको, भूकम्पले घर भत्किएर गुनासो भर्दा पनि अझै सुनवाई नभएको, विकासका काम बेला घड्केर सुरु हुँदा गुणस्तरित नभएको गुनासो गरेका थिए ।
सार्वजनिक सुनुवाईमा वडा कार्यालयको लागि आएका योजना निर्माणको लागि मंसिर ६ गतेबाट उपभोक्ता समिति गठन गरी, जेठको पहिलाहप्ताभित्र काम सक्ने गरी काम अघि बढाउने, प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिको विमा कार्यक्रममको ओषधिको लागि २ महिना भित्र स्वास्थ्य केन्द्रमा मेडिकल स्थापना गरी नियमित सञ्चालनमा ल्याउने र विद्यालयको पूर्वाधार विकासको र शैक्षिक गुणस्तरको लागि वडा कार्यालयले विद्यालयहरुसँग छलफल गरि आवश्यक उपाय अवलम्बन गर्ने तथा सबै विद्यालयमा प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचारका किड्सहरु उपलब्ध गराउने प्रतिवद्धा व्यक्त गरिएका छन् । कार्यक्रमको सहजिकरण मानवअधिकारकर्मी नवराज पथिक र पत्रकार कैलाश खत्रीले गरेका थिए ।