कार्तिक १३/निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शून्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरूको समेत डिएनए परीक्षण गर्न लागिएको हो ।
मंगलबार डिएनए परीक्षणका लागि थप चारजनाको रगत परीक्षण गर्न लागिएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरूको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।
निर्मला पन्त प्रकरणमा आधा दर्जन छानबिन समिति गठन भए । अनुसन्धानमा प्रहरीले गरेको कमजोरी पत्ता लगाउन ती समिति गठन भएका हुन् । तर, अभियुक्त पत्ता लगाउन भने अहिलेसम्म कुनै पनि विशेष समिति गठन भएको छैन ।
मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १२ मा विशेष अनुसन्धान टोली गठन गर्न सक्ने प्रावधान छ । माथिल्ला अधिकारी तथा प्रहरी महानिरीक्षकले उक्त टोली गठन गर्न सक्ने र अनुसन्धान अधिकृतसरहको अधिकार रहने प्रावधान छ । अनुसन्धानमा सघाउन प्रहरी प्रधान कार्यालय तथा सिआइबीबाट थप प्रहरीहरू कञ्चनपुर पठाइएको छ । तर, विशेषज्ञसहितको विशेष अनुसन्धान टोली भने गठन गर्न सकिने व्यवस्थालाई वास्ता गरिएको छैन ।
१ भदौदेखि लागू भएको अपराध संहिताले अपराधको गम्भीरताका आधारमा विशेष टोली गठन गर्न सकिने व्यवस्था गरेको छ । प्रहरीबाहिरका विशेषज्ञसमेत राख्न सकिने प्रावधान कानुनमा छ । प्रहरी अनुसन्धानमा जनमानसबाट आशंका बढिरहेका वेला विज्ञ व्यक्तिलाई राखेर अनुसन्धान गर्न सकिने भए पनि प्रहरीले चासो दिएको छैन ।
हेर्नुहोस् भिडियो