नवराज पथिक
रामेछाप, २३ असोज । रामेछापको स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्र सरकारले पर्याप्त कर्मचारीहरु नदिँदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । केन्द्र सरकारले वडा सचिवहरु समेत व्यवस्था नगरिदिँदा जनप्रतिनिधिहरुले आफ्नो झोलामा कार्यालय बोकेर हिँड्नु पर्ने अवस्था आएको बताए ।
रामेछापको दोरम्बा गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले भने,‘मेरो गाउँपालिकामा ७ वटा वडा छन् । ७ वटा वडा भएको गाउँपालिकामा वडा सचिव जम्मा ३ जना छन् । नत केन्द्र सरकारले कर्मचारी पठाउँछ, न करारमा नियुक्ति गर्न दिन्छ । मैले कसरी नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न सक्छु ।’
सोही गाउँपालिका २ का वडाअध्यक्ष खड्गबहादुर श्रेष्ठको समस्या अझ फरक छ । वडा कार्यालयमा खटिएका सचिवले स्वेच्छिक अवकासको लागि निवेदन गरेका छन् । उनको राजिनाम स्विकृत भएको छैन । तर उनी काममा पनि आएका छैनन् । ‘काममा आउन भन्दा मैले त राजिनामा दिई सकेको छु भन्छन्, तर तलव पनि खाई रहेका छन्, माममा पनि आउँदैनन् । कार्यालयको काम सबै आफैले गर्नु पर्छ’, सार्वजनिक सुनुवाईमा उनले गुनासो गरे ।
वडाअध्यक्षहरु चन्दबहादुर मगर, गंगा बहादुर तामाड तथा रेमबहादुर थापाले वडाअध्यक्षहरु जता जाँदा पनि झोलामै वडा कार्यालयको छाप र लेटरप्याड बोकेर हिँड्नु पर्ने अवस्था भएको गुनासो गरे । गाउँपालिका प्रवक्ता अम्बिकाप्रसाद गजुरेल, वडा नं १ र ३ का वडाअध्यक्ष लालबदन थापा मगरले भने जनशक्तिको अभावका बिचमा पनि जनप्रतिनिधिहरुले सकेसम्म जनताको काम गरेको बताए ।
दोरम्बा गाउँपालिका आर्थिक वर्ष २०७४÷०७५ मा गरेको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको प्रभाकारीताको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका भित्र रहेका सात ओटै वडाका नागरिकहरुको जनप्रतिनिधिहरुलाई विभिन्न प्रश्न गरेका थिए ।

सार्वजनिक सुनुवाईमा यही तिहार अगाडीनै गाउँपालिकामा बडापत्र टाँस गर्ने, गाउँपालिमा खटाइएका सबै कर्मचारीहरुले आफ्नो कार्यस्थलमा गई नियमित सेवा प्रवाह गर्ने, गाउँपालिका ४ वटा बजार केन्द्रमा २०७६ बैशाखसम्म सार्वजनिक शौचालय निर्माणको काम पुरा गरी सञ्चालनमा ल्याउने र यसै आर्थिक वर्षको बजेटबाटै गाउँपालिकाका दलित, महिला लगायतका लक्षित समुदायको उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।
सेवाग्राहीहरुको प्रश्नको उत्तर गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, प्रमुख प्रशासकीय अधिकृत बिनोद कोइराला र सात ओटा वडाका वडा अध्यक्षहरुल दिएका थिए ।
सार्वजनिक सुनुवाई पछि छोटो प्रतिक्रिया दिँदै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपाका नेता तुलाप्रसाद कँडेल, जिल्ला सचिव आनन्द श्रेष्ठ, हिरा श्रेष्ठ, नेपाली कांग्रेसका गाउँपालिका सभापति केशव लामा र नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले सार्वजनिक सुनुवाई निकै प्रभावकारी भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण रेडियो तीनलाल एफएमको तर्फबाट पत्रकार नवराज पथिक र कैलाश खत्रीले गरेका थिए ।
सोही कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापले भूकम्प पछिको पुननिर्माणको बारेमा छलफल गरेको छ । सो कार्यक्रमको सहजिकरण ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल रामेछापका प्रमुख दिपक के।सीले गरेका थिए । सहभागिले उठाएको प्रश्नको जवाफ पुननिर्माण प्राधिकरणको तर्फबाट दामोदर घिमिरे र प्राविधिहरुले दिएका थिए ।
(फोटो )






