आज हरितालिका तिज , रामेछापको थानापति लगाएतका शिव मन्दीरमा भिड
रामेछाप । भदौ २७ गते,
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँको बाहुनचुरामा रहेको प्रसिद्ध ऐतिहासिक थानापति मन्दीरमा यस बर्ष तीजमा दर्शन गर्ने दर्शनार्थीहरुको संङख्या बढेको छ । यो बर्ष ५ हजार भन्दा बढी दर्शनार्थीले थानापति मन्दीरमा दर्शन गरेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बोहोरालो जानकारी दिए ।
पुजा अर्चनाका लागि बिहानैदेखी भक्तजनहरु लामवद्ध भएका थिए । विगतका बर्षहरुमा भन्दा यो बर्ष व्यवस्थित लाइन लगाएर मन्दीरमा आउनेहरुलाई दर्शन गर्ने व्यवस्था मिलएको हुनाले सहज भएको दर्शनार्थीहरुको भनाई छ । 
यसैबिच थानापति मन्दीर प्राङ्गणमा तिज विशेष सांगितिक समारोहको समेत आयोजना गरिएको थियो । कार्यक्रममा चर्चित लोक गायक कुमार कार्की लगाएतको टोलीले विशेष सांगितिक प्रस्तुती गरेका थिए । कार्यक्रममा तीजका भाकाहरु प्रस्तुत गरिएको थियो ।
मन्थली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष वुद्धी बहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक अमरेन्द्र बहादुर सिंह, मन्थली नगरपालिका उपप्रमु माया कुमारी कार्की, नेकपाका नेता लव श्रेष्ठ , नेपाली कांग्रेसका जिल्ला सचि लेख बहादुर कार्की लगाएतले बोलेका थिए ।
उनीहरुले जिल्लाकै प्रसिद्ध र ऐतिहासिक धार्मिक स्थल थानापतिलाई पर्यटकिय स्थल बनाउनका लागि आफुहरु लागि पर्ने बताएका थिए । यसका लागि स्थानीय सरकारले सरोकारवाला निकायसंग आवश्यक समन्वय गर्नुपर्नेमा उनीहरुको जोड छ ।
यसै बिच मन्थलीको देवकोटा चोकमा तिजको अवसरमा महिलाहरुले आयोजना गरेको नाचगान कार्यक्रम प्रहरीले रोकेको छ । सडक अवरद्ध हुने गरी नाचगान गरेकोले सो कर्याक्रम रोकिएको प्रहरीले जनाएको छ । तर महिलाहरुले भने आपूmहरुले हरेक वर्ष नाचगान गर्ने ठाउँमा प्रहरीले कार्यक्रम गर्न नदिएर हटाएको आरोप लगाएका छन् ।
- प्रकाशित मिति: बुधबार, भाद्र २७ २०७५
- तामाकोसी खबर