युनिक विफा घिसिङ
मन्थली, जेष्ठ २९ गते । रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा रमेश कुमार बस्नेत निर्वाचित भए संगै धेरैको आँकलन फरक–फरक थियो । साविकको जिल्ला विकास समितिको उपसभापति देखि सभापति सम्म भएर काम गरेको अनुभव भएकाले कतिपयले नगरको राम्रै विकास हुनेमा विश्वस्त पनि थिए ।
तर अपेक्षा गरे जस्तो काम नगरेकै कारण केहि महिना मन्थली नगरपालिकाको नेत्रत्वको बारेमा धेरै आलोचना भएको थियो । आफ्नै पार्टी नेकपा एमाले भित्रका कार्यकर्ताहरुले समेत बस्नेतको कार्यशैली प्रति प्रश्न गर्न थाले ।
पुर्व नेकपा एमालेको तर्फबाट विजयी नगर प्रमुख रमेश बस्नेत, नगर कार्य समितिमा नेपाली काङ्ग्रेस र पुर्व नेकपा माओवादीको गठबन्धनको बहुमत रहेकै कारण काम गर्न असजिलो भएको नगरप्रमुख बस्नेतले सार्वजनिक रुपमै बताउदै आएको थियो ।
पुर्व नेकपा एमाले र पुर्व नेकपा माओवादी विच पार्टी एकिकरण भए पश्चात मात्र नगरबासीले नगरको काम कारबाहिमा केहि सहज भएको महसुस गर्न थालेका छन् ।
यसको पछिल्लो उदाहरण हो मन्थली बजार क्षेत्रको सडक चौडा बनाउने काम । निक्कै चुनौतिको बाबजुत सडक चौडा बनाउन सुरु गरिए संगै मन्थली बजार क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना समेत भत्काउन थालिएको छ । मन्थली–१ को तामाकोशी सेवा समिति देखि मदन भण्डारीको सालिक सम्म सुरक्षा व्यवस्था सहित स्काभेटर लगाएर सडक बढाउने काम भयो यसले नगर प्रमुखको कामकारबाहिको सवैले प्रशंसा गरेका छन् ।
सडक बढाउन नगर प्रमुख रमेशकुमार वस्नेतनै स्काभेटरको अघि लागेर आवश्यक निर्देशन दिइरहेका थिए । डिभिजन सडक कार्यालयले केहि दिन देखि उक्त क्षेत्रको सडक सुधार गर्दै आइरहेको छ । उक्त स्थानमा दर्जन भन्दा बढी घर परिवारले अतिक्रमण गरेको क्षेत्र खुल्ला गरी सडक बढाउन लागिएको मन्थली नगरपालिकाले जनाएको छ ।
सडक आयोजनाबाट मुआब्जा बुझेर पनि घर टहरा हालेका, सार्वजनिक जग्गा ओगटेर संरचना बनाएका र मापदण्ड बमोजिम घर दोहोरो सवारी साधन गुडाउन कठिनाई हुदै आएको थियो । रणजोर खोला देखि तामाकोशी सेवा समिति सम्मको सडक सुधार भएपछि दोहोरो सवारी संचालनमा सहज हुने डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले बताए ।
बजार क्षेत्र भित्र अतिक्रमण भएका अन्य सार्वजनिक स्थलमा समेत नगरपालिकाले नापजाँच गर्ने काम अघि बढाएको छ । यता मन्थली नगरपालिकाले सुरु गरेको सडक चौडा पार्ने काम अत्यावश्यक रहेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । बजार क्षेत्रको सडक सानो हुदा धेरै समस्या भैरहेको भन्दै नगरको आटमा सडक चौड हुनु खुशीको कुरा भएको मन्थली नगरवासीहरुको प्रतिक्रिया छ ।
नगर प्रमुखनै झाडु लिएर सडक सफाइमा लागे
गत वैशाख ३१ गते मध्यरातमा आएको भिषण बर्षपछिको बाढिका कारण अस्तव्यस्त भएको मन्थली बजार नगरकै सक्रियातामा छिटो भन्दा छिटो सामान्य अबस्थामा ल्याएको थियो । नगर प्रमुख बस्नेतले सडकमा झाडुमात्रै लगाएनन् सडकको ठाउँठाउँमा थुप्रीएको माटोको ढिस्कालाई खन्ने र सावेलले उठाउने समेत काम गरे ।
नगर प्रमुखनै सडक सरसफाइमा लागेपछि बजार बासी पनि निकै उत्सुक्ताका साथ बजार सफाइमा जुटेका छन् । यसअघि आफ्नो घर र पसल अगाडि सामान्य सरसफाई गर्ने गरेका बजारबासि अहिले खुलेरै सरसफाईमा जेटेका छन् । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले मन्थली नगरपालिकालाई व्यवस्थित र सफा बनाउने अभियानमा आफुहरु लागि रहेको बताए ।
उनले मन्थली नगरलाई सफा बनाउनको लागि बजार क्षेत्रको टोलटोलमा टोल सुधार समिति गठन गरेको र यसलाई थप सक्रिय बनाइने बताए । सबै बजारवासी र सरोकारवाला निकाय एक भएर नगर सफाई अभियानमा सक्रिय हुन नगर प्रमुख बस्नेतको आग्रह छ ।
अनिष्ठाले भरिएको संकटको बेलामा पनि धैर्यतामा रहेर तत्काल सामान्य अबस्थामा ल्याउन नगर प्रमुखको सक्रियतालाई सबैले खुलेर प्रसंशा गरे । निर्वाचित जनप्रतिनिधीहरुले प्रत्यक्ष रुपमा जनताले अनुभुति गर्ने गरी यसरीनै कार्यसम्पादन गर्दै गयो भने “सिहंदरबारको अधिकार घर–घरमा” भन्ने नाराले पनि सार्थकता पाउने थियोकी …. ।