रामेछाप कप फुटबलको तयारी पूरा, १० टोली भिड्ने

  • प्रकाशित मिति: शनिबार, असोज २४ २०८३
  • तामाकोशी

मन्थली । बडादसैँ तथा दीपावलीको अवसरमा रामेछापको मन्थलीमा चौथो रामेछाप कप खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। असोज २५ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
मन्थली नगरपालिका र दीपशिखा ब्वाइज युनाइटेड क्लब मन्थलीको आयोजनामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। क्लबले शनिबार मन्थलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
क्लबका अध्यक्ष आशिष कार्कीका अनुसार प्रतियोगिता मन्थली नगरपालिका–२ स्थित करम्बोट खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन आइतबार दिउँसो २ बजे हुने उनले जानकारी दिए। प्रतियोगितामा जिल्लाभित्रका १० टोलीले सहभागिता जनाउनेछन्।
प्रतियोगिताको विजेता टोलीले तीन लाख तीन हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीलाई एक लाख ५१ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्न प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रत्येक खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच), उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ।