मन्थली । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ अन्तर्गत सिरिसे, ढाँडे र सैपु क्षेत्रका २६ वटा पसलमा अनुगमन गरिएको छ। असोज २५ र २६ गते दुई दिनसम्म गरिएको अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएका तीन पसललाई कुल ४ हजार रुपैयाँ जरिवाना गरिएको छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापको अगुवाइमा गरिएको अनुगमनका क्रममा खाद्यान्न, किराना, सुनचाँदी, कपडा तथा मासु पसललगायतको निरीक्षण गरिएको थियो। चाडपर्वका बेला उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, म्याद गुज्रिएका सामानको बिक्री रोक्ने तथा व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो।
अनुगमनका क्रममा ओखलढुंगा किराना पसललाई १ हजार रुपैयाँ, सुदिन खाद्यान्न स्टोरलाई २ हजार रुपैयाँ र सगरमाथा कोल्ड स्टोरलाई १ हजार रुपैयाँ जरिवाना गरिएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका कार्यालय प्रमुख खेमराज घिमिरेले जानकारी दिनुभएको छ।
त्यस्तै, विशाल भेराइटी स्टोर एन्ड खाद्यान्न सप्लायर्स सैपुमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि ती नष्ट गरिएको छ। पसलबाट जम्बु डिउ नौ बोटल, दालमोट दुई प्याकेट र बेसिनको पिठो एक प्याकेट गरी करिब २ हजार ६२५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको हो।
अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका अन्य पसललाई आवश्यक प्रक्रिया पूरा गर्न सचेत गराइएको छ। व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुनको पालना गर्न, उपभोग्य वस्तुको म्याद नियमित जाँच गर्न र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका कार्यालय प्रमुख खेमराज घिमिरे, लिखुतामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, इलाका प्रहरी कार्यालयका प्रतिनिधि तथा लिखुतामाकोशी गाउँपालिकाका प्रतिनिधिलगायतको टोलीले बजार अनुगमन गरेको थियो।
चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले मूल्य, गुणस्तर, म्याद र व्यवसाय दर्ताको अवस्थालाई ध्यानमा राखेर अनुगमन गरिएको हो। बजारलाई व्यवस्थित बनाउँदै उपभोक्ताको हित संरक्षण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिनुपर्ने सरोकारवालाले बताएका छन्।