मन्थली । चर्चित लोक तथा दोहोरी गायक रामकुमार नेपालीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दुई दशकभन्दा लामो समयदेखि लोक तथा दोहोरी गीत–संगीतमा सक्रिय नेपालीले कलाकारका समस्या, संघर्ष र चुनौतीलाई संस्थागत रूपमा उठाउन आफू निर्वाचनमा आउन लागेको बताएका छन्।
सांगीतिक यात्राका क्रममा कलाकारले भोग्दै आएका विविध समस्या नजिकबाट अनुभव गरेको उल्लेख गर्दै नेपालीले ती समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने आफ्नो प्रमुख उद्देश्य रहेको बताए।
‘कलाकारका समस्या व्यक्तिगत रूपमा उठाएर मात्र समाधान हुँदैन, त्यसका लागि संस्थागत पहल आवश्यक छ,’ नेपालीले भने, ‘प्रतिष्ठानलाई कलाकारको साझा आवाजका रूपमा अझ प्रभावकारी बनाउन मेरो उम्मेदवारी हो।’
उनले प्रतिष्ठानको संस्थागत संरचनालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९ औं महाधिवेशन आजदेखी बर्दिबासमा सुरु भएको छ ।