मन्थलीमा ३० दिने एडभान्स ब्युटी पार्लर तालिम सम्पन्न

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०८२
  • तामाकोशी

रामेछाप स्थानीय महिलालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले मन्थलीमा ३० दिने एडभान्स ब्युटी पार्लर तालिम सञ्चालन गरिएको छ ।

मन्थली नगरपालिकाको समन्वय तथा बागमती प्रदेश सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालय रामेछापले गत मङ्सिर २९ गतेदेखि पुस २९ गतेसम्म तालिम सञ्चालन गरेको हो । तालिमको मंगलबार बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री बिन्दु श्रेष्ठको उपस्थितिमा समापन गरियो ।



तालिमको समापन गर्दे मन्त्री बिन्दु श्रेष्ठले महिलाले उद्योग दर्ता गर्दा ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको जानकारी गराउँदै तालिममा सिकेका सीप व्यवहारमा प्रयोग गरी व्यवसायी बन्न आग्रह गरिन । प्रदेश सरकारले महिलाहरूको सिप विकासका कार्यक्रमहरूमा जोड दिएको उनको भनाइ छ ।

वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले महिलाहरूको सीप विकास र आर्थिक सशक्तीकरणका लागि प्रदेश सरकारले माग र आवश्यकताका आधारमा यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । यस्ता तालिमले महिलाको आर्थिक विकाससँगै समाजको मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले ब्युटी पार्लर व्यवसाय चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो तालिमले स्वास्थ्य संवेदनशीलता, व्यावसायिक योजना, सेवाग्राहीप्रति व्यवहार तथा जबाफदेहिता सम्बन्धी महत्त्वपूर्ण ज्ञान दिएको विश्वास व्यक्त गरिन । उनले सिकेका सीप प्रयोग गरी व्यवसाय सुरु गर्न सहभागी महिलालाई आग्रह गर्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेका अनुसार तालिममा १५ जनाले सीप सिकेका छन्। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।

समापन समारोहमा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमपछि सहभागी महिलाहरूले ब्युटी पार्लर व्यवसाय सञ्चालन गर्न आट जगाएको बताएका छन् ।