रामेछाप । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको पुँजीगत बजेट खर्च सुस्त गतिमा देखिएको छ। बुधबार रामेछाप नगरपालिका–१ गोठ गाउँमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले आर्थिक प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
उहाँका अनुसार चालूतर्फ विनियोजित ५१ करोड ८३ लाख ३७ हजार ९७० रुपैयाँमध्ये ११ करोड ३३ लाख ९५ हजार रूपैयाँ अर्थात् २१.८७ प्रतिशत खर्च भएको छ।
पुँजीगततर्फ विनियोजित ३३ करोड २७ लाख ९ हजार ९ सय रूपैयाँमध्ये ५७ लाख ६४ हजार ८२४ रूपैयाँ मात्र खर्च भएको छ । जसको प्रगति १.७३ प्रतिशतमा सीमित छ।
आन्तरिक आम्दानीतर्फ नगरपालिकाले चालू वर्षमा १ करोड १७ लाख ७४ हजार ७०० रुपैयाँ उठाउने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म ३५ लाख ४४ हजार ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन ३०.१० प्रतिशत हो।
पूर्वाधार योजनातर्फ यसवर्ष २ सय ३४ आयोजना रहेकोमा पाँच वटा योजना ठेक्कामार्फत अघि बढेका छन्। ६ वटा योजनाका कोटेसन निकालिएका छन् भने ५२ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता भइसकेको छ।
पाँच वटा योजना सम्पन्न भई भुक्तानीसमेत गरिएको चापागाईँले जानकारी दिनुभयो।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा प्रश्न उठाएका थिए। सहभागीका प्रश्नहरूको जवाफ नगर प्रमुख लव श्री न्यौपाने, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत चापागाईँ लगायतका सरोकारवालाले दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी रामेछाप नगर समिति अध्यक्ष मोतिलाल तामाङ्ग,नेकपा एमाले नगर कमिटी सचिव माधव ढकाल र नेपाली कांग्रेसका नगर सभापति कमल विक्रम कार्की लगायतले नगरपालिकालाई विभिन्न सुझाव दिदै नगरले गर्ने हरेक कामहरु निस्पक्ष र पार्दर्शी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण हजुरको रेडियोले गरेको हो ।