रामेछाप । मन्थली नगरपालिका–८, चिसापानीस्थित समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भीमकुमार श्रेष्ठको अध्यक्षतामा र मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं ८ का अध्यक्ष गोपाल श्रेष्ठको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा कोषाध्यक्ष उमेशकुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको कुल सम्पत्ति ९ करोड ७६ लाख २२ हजार २०९ पुगेको छ। सो अवधिमा सहकारीले १० लाख २१ हजार नाफा आर्जन गरेको जानकारी दिइएको थियो। साथै सहकारीको विनियम २०८० लाई संशोधन गर्दै ७ वटा नयाँ आन्तरिक कार्यविधि निर्माण सम्बन्धी प्रस्ताव व्यवस्थापक अर्जुनकुमार श्रेष्ठले प्रस्तुत गरि साधारणसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो।
साधारणसभामा सहकारीको वित्तीय स्थायित्व र प्रगतिमा उल्लेखनीय योगदान पु¥याउने १३ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकतर्फ पुरुषमा ९० वर्षका डम्बरबहादुर भुजेल र महिलामा ८५ वर्षकी मिठु देवी श्रेष्ठलाई सम्मान गरिएको हो। वर्षको उत्कृष्ट बचतकर्तातर्फ पुरुषमा रुद्रबहादुर बुढा र महिलामा दालचिनी दमाई, उत्कृष्ट ऋणी सदस्यतर्फ पुरुषमा फाल्गुणीप्रसाद उपाध्याय ढुङ्गेल र महिलामा हस्ती तामाङले सम्मान प्राप्त गरे।
त्यसै गरी, उत्कृष्ट बाल बचतकर्तातर्फ बालक सनिश माझी र बालिका अर्विता कर्माचार्यलाई सम्मान गरिएको थियो। सदस्य वृद्धिमा योगदान पु¥याउने मन्थली–१० चनखुका नवीन्द्र कुमार कार्कीलाई समेत सम्मान गरिएको छ।
सोही अवसरमा कार्यक्षेत्र भित्रको एसइई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीमध्ये भीमेश्वर रुद्र मा.विका छात्र निशान खत्री र सरस्वती मा.विकी छात्रा अनुसा बोहरालाई पनि सम्मान गरिएको थियो।
सहकारीको वर्षको उत्कृष्ट कर्मचारीको रूपमा व्यवस्थापक अर्जुन कुमार श्रेष्ठ सम्मानित भए भने संस्थामा २०६९ साल मङ्सिर १ गतेदेखि २०८२ साल असार ३२ गतेसम्म कार्यरत रहेका पूर्व कर्मचारी दीप बहादुर खत्रीलाई कदर पत्र प्रदान गरिएको थियो। सहकारीले सम्मानित सदस्यहरूलाई सम्मान पत्र, दोसल्ला तथा खातामा १० थान बराबर एक हजार रुपैयाँको अतिरिक्त शेयर प्रदान गरेको सहकारीका अध्यक्ष भीमकुमार श्रेष्ठले बताए ।
