उमाकुण्ड गाउँपालिकाको उत्कृष्ट स्वास्थ्य संस्था नगद सहित सम्मानित

  • प्रकाशित मिति: शुक्रबार, साउन ३० २०८२
  • तामाकोशी

रामेछाप । उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ। शुक्रवार भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था, स्वास्थ्य इकाई, विद्यालय नर्सलगायतले स्वास्थ्य सेवा उपलब्धता, न्यूनतम सेवा मापदण्ड तथा अन्य सूचकहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।

गाउँपालिकामा एक अस्पताल, छ वटा स्वास्थ्य चौकी र एक स्वास्थ्य इलाकासहित आठ वटा स्वास्थ्य सेवा सञ्चालनमा छन्। सूचकको मूल्यांकनमा उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा उमाकुण्ड–७ स्थित भुजी स्वास्थ्य चौकीलाई नगद ७ हजार रुपैयाँ र प्रशंसापत्रसहित सम्मानित गरिएको छ।



द्वितीय स्थानमा उमाकुण्ड–५ को प्रीति स्वास्थ्य चौकी (नगद ६ हजार), तृतीय स्थानमा उमाकुण्ड–४ को प्रीति अस्पताल (नगद ५ हजार) परेका छन्। चौथो स्थानमा उमाकुण्ड–६ को गुप्तेश्वर स्वास्थ्य चौकी, पाँचौंमा उमाकुण्ड–२ को बाम्ती स्वास्थ्य चौकी, छैटौंमा उमाकुण्ड–३ को कुबुकास्थली स्वास्थ्य चौकी, सातौंमा उमाकुण्ड–१ को गुम्देल स्वास्थ्य चौकी र आठौंमा त्यही वडा–१ को क्यामा सामुदायिक स्वास्थ्य इकाई परेका छन्।

गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत सुनिता अर्याल, वडा अध्यक्षहरू, स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो।