रामेछाप नगरपालिकाले ८० करोडभन्दा बढीको बजेट ल्यायो

  • प्रकाशित मिति: सोमबार, असार ९ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो।

नगर उपप्रमुख बालकुमारी कार्कीले नगरसभामा प्रस्तुत गर्नुभएको बजेटअनुसार, पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ।



नगर प्रमुख न्यौपानेले नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभएको छ। उहाँले नगरको विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र दिगो विकासलाई केन्द्रमा राखिएको छ।