खाँडादेवीको कक्षा ८ को नतिजा सार्वजनिक, ४ विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल

  • प्रकाशित मिति: बुधबार, बैशाख १७ २०८२
  • तामाकोशी

रामेछाप । सामुदायिक विद्यालयको पठनपाठन सुधारमा केन्द्रित रामेछापको खाँडादेवी गाउँपालिकाको कक्षा ८ को नतिजा प्रकाशन भएको छ ।

२०७९ सालमा भएको स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरूले पहिलो वर्ष कृषि वर्षको रूपमा गाउँपालिकामा नीति कार्यक्रम सञ्चालन गरेको थियो ।
त्यसपछिका वर्षहरूमा गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका गर्न शिक्षा वर्ष नै मानेर आफ्नो कार्यक्रममा सञ्चालन गरिरहेको छ । शैक्षिक सत्र २०८१ को कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षाको नतिजा मङ्गलवार सार्वजनिक भएको छ । गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म शैक्षिक सत्र २०८१ को कक्षा ८को परीक्षा सञ्चालन भएको थियो ।



उक्त परीक्षामा २१ वटा विद्यालयका २४७ जना विद्यार्थी सहभागी भएका थिए । २१ वटा विद्यालय मध्ये ४ वटा विद्यालय यो परीक्षामा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ । माध्यमिक विद्यालय राकाथुमबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा २७ जना नै उत्तीर्ण भएका छन् । त्यसै गरी बागेश्वरी आधारभूत विद्यालयबाट ८ जना र जि.एन इङ्लिस बोर्डिङ स्कुलबाट ३ जना सहभागी भएकामा सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कालिका आधारभूत विद्यालयबाट ३ जना विद्यार्थी सहभागी भएकोमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी भएका जम्मा विद्यार्थीको ४७.७७ प्रतिशत अर्था ११८ जना विद्यार्थी उत्तीर्ण भएको सार्वजनिक नतिजामा उल्लेख छ । यो परीक्षामा ५२.२२ प्रतिशत अर्थात् १२९ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

यता खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले भने विगतका वर्षहरूमा भन्दा यो वर्ष पालिका स्तरीय कक्षा ८ को नतिजा सुधार भएको दाबी गर्नुभएको छ । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दे अध्यक्ष श्रेष्ठले भन्नुभएको छ“मावि तहको विद्यालयहरूमध्ये कक्षा आठको नतिजा सार्वजनिक भएको छ ।

तथ्याङ्क विश्लेषण गर्दा ५ प्रतिशतबाट ५० प्रतिशतको नजिक नतिजा पुगेको छ । ८ कक्षा पढाइ हुने २१ वटा विद्यालयमा चार वटा विद्यालयले शत प्रतिशत नतिजा र आठ वटा विद्यालयले न्यूनतम पास प्रतिशतभन्दा तलको अङ्क प्राप्त गरेको छ ।” केही विद्यालयहरूले अत्यन्त न्यून प्रतिशत प्राप्त गरेकोले चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । सबै विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शिक्षा विज्ञहरूसँग बजेर आवश्यक योजना बनाउने उहाँले बताउनुभयो ।