रामेछापबाट २ हजार ७०० विद्यार्थीले एसइई दिँदै

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २६ २०८१
  • तामाकोशी

रामेछाप । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत्र ७ गतेबाट सुरु हुँदै छ । यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापले एसइई परीक्षाको आवश्यक तयारी गरिरहेको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष १९ वटा परीक्षा केन्द्रहरूबाट जिल्लाका दुई हजार ७०१ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । जिल्लाबाट दुई हजार ४११ जना नियमित र २९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १३३ जना, चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जना र शारदा मावि ठोसे केन्द्रबाट ८० जना विद्यार्थीले एसइई दिँदै छन् ।
त्यसै गरी जनजजागृत मावि वेताली केन्द्रबाट १४४ जना, तामाकोशी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १२२ जना, कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना र गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २१९ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।
यस्तै हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २१० जना, झट्टेश्वर मावि धोबी केन्द्रबाट १४६ जना, त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १११ जना र प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २२६ जना विद्यार्थीले एसइई दिँदै छन् ।
कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १०७ जना, कालिका मावि लखनपुर केन्द्रबाट १०५ जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १८६ जना एसइईमा सहभागी हुँदै छन् ।
मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका ११२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले बताउनुभयो ।
यस्तै मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २४४ जना, मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जना र डहु मावि परीक्षा केन्द्रबाट १९१ जना विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने उहाँले बताउनुभयो ।