स्वास्थ्यकर्मी र अस्पतालहरूमा भएका दुर्व्यवहारका घटना विरुद्ध रामेछापका स्वास्थ्यकर्मीहरू आन्दोलित

  • प्रकाशित मिति: बिहिबार, असोज ११ २०८०
  • तामाकोशी

रामेछाप । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू र अस्पतालहरूमा भएका दुर्व्यवहारका घटनाका विरुद्धमा रामेछापका स्वास्थ्यकर्मीहरू पनि आन्दोलित भएका छन् । देशका विभिन्न ठाउँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट भएको र विभिन्न अस्पतालहरू तोडफोड गर्ने जस्ता अमानवीय घटनाका विरुद्धमा बिहीबार रामेछापका स्वास्थ्यकर्मीहरूले मौन जुलुस गरी विरोध जनाएका हुन् । नेपाल चिकित्सक सङ्घ र नेपाल स्वास्थ्यकर्मी सङ्घको अगुवाइमा देश भरका स्वास्थ्यकर्मीहरू र अस्पतालहरूमा भएका दुर्व्यवहारका घटनाका विरुद्धमा रामेछाप सदरमुकाम मन्थलीमा मौन विरोध जुलुस गरी जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई ज्ञापन पत्र बुझाइएको आन्दोलनमा सहभागी मन्थली स्थित तामाकोसी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीमाथि देशका विभिन्न स्थानमा श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । सरकारले यस्ता अमानवीय घटनामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने स्वास्थ्यकर्मीहरूको अडान छ । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी माथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बनेको उनीहरूको आरोप छ । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।