जनताको विकास र समृद्धिको सपना पूरा गर्ने पार्टी एमाले मात्रै हो : शङ्कर पोखरेल

  • प्रकाशित मिति: आइतबार, साउन ७ २०८०
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताको विकास र परिवर्तनको आकाङ्क्षालाई नेतृत्व गर्न सक्ने सामथ्र्य राख्ने पार्टी एमाले मात्रै भएको बताउनुभएको छ । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हितका साथै जनताको विकास र समृद्धिको सपना पूरा गर्ने सामथ्र्य एमालेसँग रहेको उहाँले बताउनुभयो । पुष्पलालको ४५ औँ स्मृति दिवसको अवसरमा एमाले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा आइतबार पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।

‘जनताको विकास र परिवर्तनको आकाङ्क्षालाई नेतृत्व गर्न सक्ने सामथ्र्य एमालेसँग मात्रै छ, यो कुरा एमालेले सरकारको नेतृत्व गर्दा गरेको कामबाट जनताले बुझिसकेका छन्’,उहाँले भन्नुभयो । तर दुर्भाग्यको कुरा जनताको विकास र समृद्धिको नेतृत्व गरिरहेको नेकपा एमालेलाई घेराबन्दी गर्ने र नेतृत्व माथि आक्रमण गर्ने जुन प्रकारको दूषित प्रचार भइरहेको उहाँले बताउनुभयो । यसले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षामा कुठाराघात भएको उहाँको भनाइ छ । राष्ट्रको, स्वतन्त्रता, स्वाभिमान र हित विपरीत अन्य कम्युनिस्ट पार्टीहरू आत्मसमर्पण गरेर अघि बढिरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘‘कम्युनिस्ट पार्टीहरूले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा अडान लिन सक्नुपर्ने हो । तर नेपालमा कम्युनिस्ट पार्टीका नाममा रहेका अन्य पार्टीहरू राष्ट्रको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितका प्रश्नहरूमा आत्मसमर्पण वादी नीति अवलम्बन गदै अगाडी बढिरहेका छन् । ’’
पुष्पलालले स्थापना गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी आज नेकपा एमालेका रूपमा नेपालमा मात्रै होइन विश्व स्तरमै जनताबाट अनुमोदित भएको लोकप्रिय आन्दोलनका रूपमा स्थापित भएको उहाँले बताउनुभयो । ‘पुष्पलालले जुन मान्यताको आधारमा कम्युनिस्ट पार्टीको नेतृत्व गर्नुभयो, त्यसको ऐतिहासिक विरासतको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो’, उहाँले भन्नुभयो । एमाले सरकारमा रहेको बेला पुष्पलालको जन्मथलो भँगेरीलाई व्यवस्थित गुरु योजनाका साथ अघि बढाएको भए पनि अहिले सरकारले त्यसलाई गतिका साथ काम नगरेको भन्दै पोखरेलले आलोचना गर्नुभयो । सो क्रममा महासचिव पोखरेलले पुष्पलाल स्मृति उद्यानमा स्याउ तथा एभोकार्डोको बिरुवा पनि रोप्नु भएको थियो ।