रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकाको न्यायिक समितिमा झन्डै एक वर्षको अवधिमा १३ वटा विवादहरू दर्ता भएका छन् ।
गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०७९÷०८० को हालसम्म १३ वटा विवादहरू दर्ता भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म १३ वटा विवादहरू न्यायिक समितिमा दर्ता भएकोमा अहिलेसम्म ९ वटा विवादको मेलमिलापका माध्यमबाट निरूपण गरिएको लिखुतामाकोशी गाउँपालिकाकी न्यायिक सहजकर्ता सुमित्रा लामाले बताउनुभयो । यो अवधिमा लिखुतामाकोशी गाउँपालिकाको न्यायिक समितिमा आएका विवादको प्रकृति हेर्दा जग्गा विवाद र घरेलु हिंसाका बढी रहेको उहाँले बताउनुभयो । छिटो, सस्तो र सहज न्याय पाउने आशामा स्थानीय न्यायिक समितिमा विवादहरू आएको र न्यायिक समितिलाई प्राप्त अधिकार जिम्मेवारी अनुसार न्यायिक समितिले न्याय दिने प्रयास गरिरहेको उहाँले बताउनुभयो । न्यायिक समितिको कामलाई अझै प्रभावकारी बनाउन गाउँपालिका भित्रका सबै वडाहरूमा मेलमिलाप केन्द्रको थप व्यवस्थापन र सूचिकृत मेलमिलाप कर्ताहरूको क्रियाशीलता बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको लिखुतामाकोशी गाउँपालिकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक दीपा पाख्रिनले बताउनुभयो । न्यायिक समितिले मेलमिलापका माध्यमबाट निरूपण गरेको विवादका पक्ष वा विपक्षलाई चित्त नबुझेमा ३५ दिनभित्र अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था छ । तर लिखुतामाकोशी गाउँपालिकाको न्यायिक समितिले निरूपण गरेको विवादहरूका बारेमा पुनरावेदन नपरेकाले न्यायिक समितिले गर्ने न्याय सम्पादनको काम प्रभावकारी रहेको उहाँले दाबी गर्नुभयो ।