रामेछाप । रामेछापको खाँडादी गाउँपालिकामा यो वर्ष बेरोजगार सूचिकृृत भएका ८५ जनाले एक सय दिनको रोजगारी पाउने भएका छन् । खाँडादेवी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७९÷०८० का लागि ७८२ जना नागरिक बेरोजगार सूचिकृत भएका छन् । तर गाउँपालिकालाई जम्मा ८५ जना बेरोजगारलाई एक सय दिनको रोजगारी दिन पुग्ने ५४ लाख ९७ हजार रुपैयाँ बजेट प्राप्त भएको गाउँपालिकाका रोजगार संयोजक विपिन केसीले बताउनुभयो । ९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १५ वटा योजना सम्पन्न हुनुपर्नेमा अहिलेसम्म चार वटा वडाका पाँच वटा योजना सम्पन्न भएर भुक्तानी भइसकेको रोजगार संयोजक केसीले बताउनुभयो । अहिलेसम्म वडा नं १,२ ७ र ९ का पाँच वटा योजना सम्पन्न भई भुक्तानी समेत भइसकेको उहाँले बताउनुभयो । बेरोजगार सूचिकृत भएका नागरिकहरुलाई विभिन्न वडामा सञ्चालन भएका सडक पूर्वाधार र पर्यटन विकास लगायतका काममा परिचालन गरिएको उहाँले बताउनुभयो । रोजगार संयोजक केसीका अनुसार बेरोजगार सूचिकृत भएका व्यक्तिले दैनिक ६४० रुपैयाँ दरले ज्याला पाउने गरी एक सय दिनको रोजगारी पाएका छन् ।
खाँडादेवी गाउँपालिकामा प्रधानन्त्री रोजगार कार्यक्रम : ८५ जनालाई रोजगारी
- प्रकाशित मिति: सोमबार, बैशाख २५ २०८०
- तामाकोशी