एमालेमा रूपान्तरण सहितको दृढ एकता आवश्यक छ : निरु दर्लामी

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २४ २०७९
  • तामाकोशी

रामेछाप । नेकपा एमालेकी केन्द्रीय सदस्य निरु दर्लामीले जनता, एमाले र एमालेका नेताहरू बिचको केही खाडलहरू पुर्न मिसन ग्रासरुट अभियान महत्त्वपूर्ण हुने बताउनुभएको छ । बुधवार रामेछाप सदरमुकाम मन्थलीमा नेकपा एमाले मन्थली नगर कमिटीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९) शुभारम्भ तथा प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पार्टी सङ्गठनमा देखिएका वास्तविक समस्याहरूको पहिचान गरी समाधान गर्न पार्टीले यो अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । वर्तमान समयमा नेपालमा रहेका अन्य राजनीतिक दलहरू भन्दा जनतामा नेकपा एमाले लोकप्रिय रहे पनि अझै जनता, पार्टी र पार्टीमा आबद्ध नेताहरूका बिचमा बनेका खाडलहरू पुर्न आवश्यक रहेको उहाँको भनाइ छ । यसका लागि पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताहरूमा रूपान्तरण सहितको दृढ एकता हुन अत्यावश्यक रहेको उहाँको भनाइ छ । पार्टीमा तल्लो तहका बहुमत नेता कार्यकर्ताको भावना विपरीत नृतत्वको नजिक रहेका व्यक्तिलाई टिकट दिने परिपाटीले स्थानीय तहको निर्वाचनको परिणाम सोचे जस्तो नआएकाले अब पार्टीमा यस्तो परिपाटी अन्त्य गर्न सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।