दोरम्बा सैलुङ गाउँपालिकामा एक वर्षदेखि अस्पताल निर्माणको काम अलपत्र

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण काम एक वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले १५ प्रतिशत पनि काम नसकी गएको फागुन महिनादेखि अस्पतालको निर्माण काम अलपत्र बनेको हो । अस्पताल निर्माणको लागि आरोग्य सुवेदी जेभीले २०७८ को चैत १६ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७७ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । भ्याट र पीएस सहित ११ करोड ३० लाख ११ हजार ४ सय ६० रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीले गरेको थियो । अस्पताल निर्माणका लागि निर्माण कम्पनीले २ करोड २६ लाख रुपैयाँ पेस्की लिएको थियो । त्यस्तै पहिलो बिलको ८२ लाख ४७ हजार ४ सय ५१ रुपैयाँ भुक्तानी लिइसकेको छ भने दोस्रो अन्तिम बिल ४६ लाख १३ हजार रुपैयाँ भुक्तानीको तयारी गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नगरेपछि दोरम्बा सैलुङ गाउँ कार्यपालिका बैठकले पहिलो पटक २०७८ असोज १६ गतेसम्म म्याद थप गरेको थियो । त्यो अवधिमा पनि काममा कुनै प्रगति नभएको अवस्थामा गाउँ कार्यपालिकाले एकै पटक २०८० असार २४ गतेसम्मको लागि म्याद थप गरेको छ ।
अहिले निर्माण कम्पनी सो स्थानका निर्माण सामाग्री समेत उठाएर अन्यत्रै लगेको छ । भवनको जग राखेर केही पिल्लर उठाउने बाहेकको काम नभएको र लामो समयदेखि त्यतिकै छाडेको फलाम खियाले खाएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीय समेत रहनुभएको गैरसरकारी संस्था महासङ्घ नेपाल रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । ‘निर्माण कम्पनीको काम गर्ने नियत देखिएन, त्यसैले यसका विरुद्ध सम्बन्धित निकायमा निवेदन गर्छौँ’, उहाँले भन्नुभयो । रकम अभाव भएको भन्दै निर्माण कम्पनीले गएको फागुन महिनादेखि अस्पताल निर्माणको काम रोकेर अलपत्र बनाएको दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो । ‘जति ताकेता गरे पनि निर्माण कम्पनीले टेरेन, अब प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायीलाई झिकाएर कुरा गर्ने तयारी भइरहेको छ, यसका लागि गाउँपालिकाले आवश्यक कागजात बनाएको छ’, उहाँले भन्नुभयो ।