रामेछाप । जिल्ला अस्पताल रामेछापले पहिलो पटक मिर्गौलाका बिरामीहरूका लागि डायलायसिस सेवा सुरु गरेको छ । वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापन शाखा, अस्पताल विकास समितिको संयुक्त प्रयासमा विहीबारबाट अस्पतालले डायलायसिस सेवा सुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारी, डा.भूषण सुवेदी, डा. पवन खत्री, नर्सिङ इन्चार्ज यशोदा बरालसहितको टोलीले डायलायसिस सेवा सुरु गर्नुभएको हो । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन जिल्ला अस्पताल रामेछापले डायलायसिस सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट गगन अधिकारीले बताउनुभयो । पाँच वटा डायलायसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलायसिस गरिरहेका बिरामी लाभान्वित हुने उहाँले बताउनुभयो । ‘लामो समयको प्रयासपछि अस्पतालले डायलायसिस सेवा सुरु गरेको छ, यो अस्पतालको लागि एउटा सफलता पनि हो, रामेछाप नगरपालिकाकी एक महिलाको डायलायसिस गरेर यो सेवाको सुरुवात गरेका छौँ’,उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालले अब दैनिक दुई जना बिरामीलाई डायलायसिस सेवा दिन सक्नेछ । उहाँले भन्नुभयो ‘‘सेवा सुरु गर्न जस्तै सेवा राम्रो र निरन्तरता दिन खटिनुपर्छ । सुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व पनि हो।’’ अब बिरामी र आफन्तले डायलायसिस गराउनकै लागि काठमाडौँलगायत अन्य ठुला सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ । अहिले रामेछाप सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालले डायलायसिस सेवा दिइहरेको छ । तामाकोसी अस्पतालले दैनिक २० जनासम्म मिर्गौलाका बिरामीलाई डायलायसिस दिँदै आएको छ ।
जिल्ला अस्पताल रामेछापमा डायलायसिस सेवा सुरु
- प्रकाशित मिति: शनिबार, फाल्गुन १३ २०७९
- तामाकोशी