रामेछापमा माओवादीका बागीको उम्मेदवारी फिर्ता, काँग्रेसको यथावत्

  • प्रकाशित मिति: बुधबार, असोज २६ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार बनेका आफ्नै उम्मेदवारको विरुद्ध बागी उम्मेदवारी दिएका माओवादी नेताहरूले उम्मेदवारी फिर्ता लिए पनि काँग्रेसका बागी उम्मेदवारले भने आफ्नो उम्मेदवारी यथावत् राखेको छ । आफ्नै पार्टीका उम्मेदवार विरुद्ध रामेछाप प्रदेश क र ख मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका माओवादीका नेता रवीन्द्र पौडेल र डिल्लीमान तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । तर गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छाराम) विरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराउनुभएका काँग्रेस नेता चन्द्र राउतले भने उम्मेदवारी फिर्ता नलिएपछि उहाँको उम्मेदवारी यथावत् रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । गठबन्धनबाट प्रदेश सभाका दुवै सिट रामेछापमा माओवादीको भागमा परेको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा क मा तारानारायण श्रेष्ठ र ख मा युवराज चौलागाईंले उम्मेदवारी दर्ता गराउनुभएको थियो । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुने रामेछापमा प्रतिनिधिसभा सदस्य तर्फ २२ जना, प्रदेश क मा १२ जना र प्रदेश ख मा १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसबाट प्रदेश क का एक जना र प्रदेश ख का एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका आइटी शाखाका नवराज घिमिरेले बताउनुभयो ।