मन्थली नगरपालिका–९ पुरानागाउँमा मेलमिलाप केन्द्रको कामलाई प्रभावकारी बनाउन अन्तरक्रिया

  • प्रकाशित मिति: आइतबार, असोज ९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा रहेको मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । आइतबार मन्थली नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक ईश्वरी बस्नेत, कानुन अधिकृत सुदर्शनकुमार राय लगायतको टोलीले मेलमिलाप केन्द्रको अनुगमन पश्चात न्यायिक समिति, वडा समिति, मेलमिलाप केन्द्रका पदाधिकारीहरूसँग अन्तरक्रिया पनि गरेको छ । मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणको अध्यक्षता भएको अन्तरक्रियामा स्थानीय स्तरमा हुने विवाद समाधानका लागि मेलमिलाप केन्द्र, न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक ईश्वरी बस्नेतले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रलाई निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले वडा स्तरको मेलमिलाप केन्द्रको कामलाई प्रभावकारी बनाउन भौतिक व्यवस्थापन गर्ने, मेलमिलाप कर्ताहरुको क्षमता विकासका लागि सहयोग गर्ने र मेलमिलाप कर्ताहरुको सेवा सुविधालाई लिएर आएका गुनासाहरूलाई सम्बोधन गर्न प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्थानीय स्तरमा न्यायिक अदालतका रुपमा निर्माण भएको न्यायिक समितिको कामलाई थप प्रभावकारी बनाउन आफू लगायत सिंगो समिति नै प्रतिवद्ध रहेको पनि बताउनुभयो । कार्यक्रममा स्थानीय स्तरमा हुने विवाद समाधानका लागि बनेको मेलमिलाप केन्द्रको कामलाई थप प्रभावकारी बनाउनका लागि वडा कार्यालयले सकेको सहयोग गर्ने मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले बताउनुभयो ।