रामेछाप । जिल्लाको मन्थली नगर कार्यपालिका निर्वाचनको लागि नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गर्ने भएका छन् । नगर कार्यपालिका निर्वाचनमा एमालेको एकल बहुमत नपुग्ने भएपछि माओवादीसँग तालमेल गरेको हो । कार्यपालिकामा निर्वाचित हुने तीन खुल्ला सदस्य सहित आठ सदस्यको लागि एमाले र माओवादीले तालमेल गरेर मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेले ६ जना र माओवादी केन्द्रले दुई सदस्य लिने गरी मनोनयन दर्ता भएको छ । मन्थली नगर कार्यपालिकाको निर्वाचन जेठ १५ गते हुँदै छ । नगर कार्यपालिका सदस्यको निर्वाचनमा नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्न पाउने व्यवस्था रहेको छ । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३६ जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेस, माओवादी र समाजवादीबाट वडाध्यक्ष र सदस्य सहित ३६ जना नै जनप्रतिनिधि छन् । एमालेलाई एक्लै कार्यपालिका बनाउन एक सदस्य अपुग भएपछि माओवादीसँग तालमेल गरेको हो ।
मन्थली नगरपालिकामा दुई पार्टी बिच तालमेल भएपछि जिल्ला समन्वय समिति गठन गर्न पनि यिनै दुई पार्टी बिच तालमेल हुने बाटो खुलेको छ । रामेछापमा पालिकाको निर्वाचनमा माओवादी र कांग्रेसले दोरम्बा गाउँपालिकामा तालमेल गरेका थिए । अन्य सबै पालिकामा कांग्रेसले माओवादीसँग नमिली चुनाव लडेको थियो ।
आठ वटा स्थानीय तह रहेको रामेछाप जिल्लामा एक्लै जिल्ला समन्वय समिति गठन गर्न ९ मत आवश्यक पर्दछ । नेपाली कांग्रेससँग सात मत छ । नेकपा एमालेसँग ६ मत छ भने, माओवादी केन्द्रसँग तीन मत छ । माओवादीले जोसँग तालमेल ग¥यो उसैको जिल्ला समन्वय समिति बन्ने अवस्था छ ।