रामेछाप । किसानलाई किवी खेतीमा उत्प्रेरित गराएर रामेछापको गोकुलगंगा गाउँपालिका किवीको पकेट क्षेत्रको रुपमा विकसित हुँदै गएको छ । रामेछापका दोरम्बा, सुनापति, गोकुलगंगा, लिखुतामाकोसी लगायतका गाउँपालिकाको माथिल्लो भागमा किवीको खेती भइरहेका भए पनि गोकुलगंगा गाउँपालिकाले आलु र किवीको पकेट क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान र सहयोग दिँदै आएको छ । यसले कृषि क्षेत्रको प्रवर्धनमा सहयोग पुगेको छ । किसानलाई हरेक वर्ष बिउ तथा बिरुवा वितरण गरेर व्यावसायिक बनाउन सहयोग पुर्याएको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनुभयो । यस वर्ष पनि गाउँपालिकाले किसानलाई ७० प्रतिशत अनुदानमा ८ हजार किवीका बिरुवा वितरण गरेको छ । गाउँ पालिकाको कृषि क्षेत्रको नियमित कार्यक्रम अन्तर्गत ती बिरुवा वितरण गरिएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
गाउँपालिकाको सहयोग र किसानको व्यक्तिगत प्रयासमा अहिले गोकुलगंगा गाउँपालिकामा ठाउँ ठाउँमा किवीका बगैँचा स्थापना भएका छन् । किवी खेतीबाट किसानले राम्रो आम्दानी लिन लागेपछि यसको खेती प्रति किसानको आकर्षण पनि बढ्दै गएको छ । गोकुलगंगामा उत्पादित किवी किसानकै बगैँचामा २ सय ५० देखि ३ सय रुपैँया प्रति किलोको दरले बिक्री हुने गरेको छ । गाउँमा नै सडक पुगेको कारण ठुलो परिमाणमा उत्पादन भए पनि बिक्री नहोला भन्ने किसानलाई चिन्ता छैन । त्यसैले पनि व्यवसायी कृषिको विकास हुँदै गएको छ ।
किवीको पकेट क्षेत्र बन्दै रामेछापको गोकुलगंगा गाउँपालिका
- प्रकाशित मिति: बुधबार, फाल्गुन ११ २०७८
- तामाकोशी