रामेछाप । जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएका छन् । अहिलेसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार हालसम्म एक लाख सात हजार २८५ जनाले कोरोना विरुद्धको पहिलोमात्रा खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले २१ जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार अहिले मन्थली नगरपालिकामा २, रामेछाप नगरपालिकामा ८, खाँडादेवी गाउँपालिकामा ३, गोकुलगङ्गा गाउँपालिकामा ५ र लिखुतामाकोसी गाउँपालिकामा २ जना कोरोनाका सक्रिय सङ्क्रमित होम आइसोलेशनमा बसेका छन् । त्यसैगरी गोकुलगङ्गा गाउँपालिकामा एक जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । जिल्लामा कोरोना सङ्क्रमणदर घटेपछि जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले फागुन १ गतेदेखि जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु सञ्चालन गरिसकेको छ ।
रामेछापका झण्डै ९८ हजारले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाए
- प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७८
- तामाकोशी