खाँडादेवीको माकादुममा आवास अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ५ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा आवास अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा तथा गाउँपालिकाका प्राविधिकको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका इञ्जिनियर ईश्वर खड्काले नक्सा पास नै नगरी घर बनाएको कारण अहिले समस्या परेको बताउनुभयो उहाँले ऋण लिनको लागि नक्सा पास गरिदिनु प¥यो भन्दै स्थानीय आउने गरेका बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्माणको काम गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष पुष्कर कार्कीले भूकम्प पछिको पुनर्निर्माण काम लगभग सकिएको बताउनुभयो । कतिपय लाभग्राहीले बारम्बार उजुरी गर्दा पनि लाभग्राही सूचीमा नपरेको कारण उहाँहरू सो सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो । नेकपा एमाले रामेछापका सदस्य गोपाल सरकारले लागु गर्न लागेको खरको छाना विस्थापन कार्यक्रममा सबै घर नसमेटिएका भन्दै सो कार्यक्रममा सबैलाई सहभागी गर्न माग गर्नुभयो । गाउँपालिकामा जम्मा एक सय घरका लागि मात्र सो कार्यक्रम आएको बताउँदै उहाँले त्यस्ता खरका छानो भएको घर गाउँपालिकामा अझै धरै भएका बताउनुभयो । खाँडादेवी गाउँपालिका–६ का कुलबहादुर खत्रीले भूकम्पको कारण घर क्षति भएका केही लाभग्राहीले सेवा नपाएको भन्दै त्यस्ता पीडित अन्यायमा परेका बताउनुभयो । उहाँहरूलाई कसरी समेट्न सकिन्छ भन्ने विषमा ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो ।