रामेछाप । रामेछापमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो दरमा छ । जिल्लामा सोमबार ७ जनामा कोरोना पुष्टि हुँदा ४५ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ३३९ जना कोरोना सङ्क्रमणमुक्त भैसकेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । उहाँका अनुसार सोमबार मन्थली नगरपालिकाबाट ३, रामेछाप नगरपालिकाबाट १५, उमाकुण्ड गाउँपालिकाबाट ७, खाँडादेवी गाउँपालिकाबाट ३, गोकुलगङ्गा गाउँपालिकाबाट २, दोरम्बा सैलुङ गाउँपालिकाबाट १, लिखुतमाकोसी गाउँपालिकाबाट ९ र सुनापति गाउँपालिकाबाट ५ जना गरी ४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै सोमबार जिल्लामा १३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित अहिले जिल्लामा १२० जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । उहाँका अनुसार अहिले ७८ जना सङ्क्रमित होम आइसोलेशनमा र ४ जना संस्थागत आइसोलेशनमा बसेका छन् । यसैबिच जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले हालसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको र एक लाख सात हजार २२८ जनाले कोरोना विरुद्धको पहिलोमात्रा खोप लगाएको बताउनुभयो ।
रामेछापमा आज ४५ जना कोरोना सङ्क्रमणमुक्त हुँदा ७ जना सङ्क्रमित थपिए
- प्रकाशित मिति: सोमबार, माघ २४ २०७८
- तामाकोशी