रामेछापमा आज थप २१ जनामा कोरोना सङ्क्रमण

  • प्रकाशित मिति: सोमबार, माघ १० २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा सोमबार २१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ७ जना सङ्क्रमणमुक्त भएका छन् । सोमबार थपिएका सहित अहिले जिल्लामा १८८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो तथ्याङ्क नेपालमा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि पुस २४ गते यताको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले सोमबार जिल्लामा ४४ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार अहिले मन्थली नगर ७५ जना, रामेछाप नगरपालिकामा २३ जना, उमाकुण्ड गाउँपालिकामा सात जना, खाँडादेवी गाउँपालिकामा १९ जना, गोकुलगङ्गा गाउँपालिकामा २५ जना, लिखुतामाकोसी गाउँपालिकामा १० जना, दोरम्बा सैलुङ गाउँपालिकामा चार जना र सुनापति गाउँपालिकामा १२ जना गरी १७५ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । त्यसैगरी जिल्ला अस्पतालमा चार जना, उमाकुण्ड गाउँपालिकामा दुई जना र लिखुतामाकोसी गाउँपालिकामा सात जना गरी १३ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । यस्तै सोमबार रामेछाप नगरपालिकाबाट एक जना, खाँडादेवी गाउँपालिकाबाट पाँच जना र गोकुलगंगा गाउँपालिकाबाट एक जना गरी सात जना कोरोना सङ्क्रमणमुक्त भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।