रामेछाप । नेकपा एमालेको जिल्ला अधिवेशन पुस २३ गते हुँदै छ । यसका लागि एमाले रामेछापले पुस १७ गते प्रतिनिधि छनोट गर्ने भएको छ । सोमबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका ६४ वटै वडाबाट प्रतिनिधि छान्ने निर्णय गरेको हो ।
एमाले स्थायी समिति सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेलको आतिथ्यतामा बसेको बैठकले प्रतिनिधि छनोटबारे निर्णय गरेको एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले बताउनुभयो ।
बैठकमा पुस २३ गते हुने आठौँ जिल्ला अधिवेशनको तयारीका सन्दर्भ छलफल भएको छ, अधिवेशनका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ प्रचार विभाग प्रमुख कार्कीले भन्नुभयो ।
अधिवेशनका प्रतिनिधि छनोटको आधार तयार गर्न पुस ११ गते जिल्ला सचिवालय बैठक बस्ने कार्कीले बताउनुभयो । यसै गरी पार्टीको १० औँ महाधिवेशनको सन्देश प्रवाह गर्न जिल्लाका आठ ओटै पालीकामा पुसको १३, १४ र १५ गते पालिका स्तरीय बृहत् कार्यकर्ता भेला गर्ने निर्णय भएको पनि कार्कीले बताउनुभयो । दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा रामेछापमा नेकपा एमालेको १२ हजार ६६२ जना सङ्गठित सदस्य छन् ।
एमाले रामेछापले पुस १७ गते जिल्ला अधिवेशन प्रतिनिधि छनोट गर्ने
- प्रकाशित मिति: मंगलबार, पुष ६ २०७८
- तामाकोशी