रामेछाप । रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका वडा नं ४ बेतालीका सविन विश्वकर्मा २३ वर्षको उमेरमा प्रदेश अधिवेशन प्रतिनिधि बन्नुभयो । रामेछापबाट प्रदेश अधिवेशन प्रतिनिधि बन्नुभएका विश्वकर्माले आफु बागमती प्रदेशकै कान्छा प्रदेश अधिवेशन प्रतिनिधि भएको दाबि गर्नुभएको छ ।
विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ २३३ मत प्राप्त गरी प्रतिनिधिमा चयन हुनुभएको हो । उहाँ नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ २०७६ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
परिवारमा सानैदेखि नेपाली काँग्रेसको राजनीतिको प्रभाव परेपछि विश्वकर्मा १४ वर्षको उमेरदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर निरन्तर नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय रहनुभएको छ । उहाँले २०६७ सालदेखी २०६८ सालसम्म श्री जनजागृत उच्च माध्यमिक विद्यालय वेताली रामेछापको इकाइ समिति सभापति रहेर काम गर्नुभयो ।
२०६९ देखी २०७२ सम्म रामेछाप सदरमुकाम मन्थलीमा रहेको मन्थली उच्च माविको ने.वि संघ इकाई सचिवका रुपमा काम गर्नुभएको थियो । त्यसपछि उहाँ २०७२ सालदेखी २०७६ सालसम्म मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा ने.वि संघ उपसभापति हुँदै कार्यवाहक सभापति समेत बन्नुभएको थियो ।
विश्वकर्मा २०७७ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्यको रुपमा सक्रिय हुनुहुन्छ । परिवारका हजुरवुवा राजनीतिमा सक्रिय भएकोले आफु पनि राजनीतिमा आकर्षित बनेको विश्वकर्मा बताउनुहुन्छ । अवको बाँकी जीवन पनि राजनीतिमा सक्रिय हुने उहाँको योजना छ। राजनीतिमा लाग्नु सम्भव छैन र लाग्नु हुन्न भन्ने कमजोर मानसिकताको कारण दलित समुदाय सक्रिय राजनीतिमा कम भएको उहाँको भनाई छ ।
बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि सविन विश्वकर्मा
- प्रकाशित मिति: आइतबार, मंसिर १२ २०७८
- तामाकोशी