बागमती प्रदेश सभापतिमा आधा दर्जन बढी आकाँक्षी

  • प्रकाशित मिति: आइतबार, मंसिर १२ २०७८
  • तामाकोशी

हेटौँडा । नेपाली काँग्रेसको १४ औँ महाधिवशेनअन्तर्गत बागमती प्रदेशको अधिवेशन हेटौँडामा यही बिहीबार र शुक्रबार हुँदैछ ।
देश सङ्घीयतामा गएसँगै पहिलो पटक हुन लागेको प्रदेश अधिवेशन सात वटै प्रदेशमा एकै पटक गर्ने गरी काँग्रेस केन्द्रीय समितिले बिहीबार र शुक्रबारका लागि मिति तय गरेको हो । प्रदेश अधिवेशनले सभापितसहित दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री निर्वाचित गर्ने छ । प्रदेश कार्यसमितिमा निर्वाचित सदस्यहरुमध्येबाट निर्वाचित कार्यसमितिबाट एक जना कोषाध्यक्षको निर्वाचन गर्ने काँग्रेसको विधानमा रहेको छ ।
साथै अधिवेशनबाट प्रत्यक्ष निर्वाचित, समावेशी र समानुपातिक आधारमा कार्य समिति सदस्यहरु चयन गर्ने छ । यसैबीच प्रदेश सभापतिमा आधा दर्जनभन्दा बढीले दाबी गरेका छन् । काँग्रेस काठमाडौँका पूर्व सभापति भीमसेनदाश प्रधानले प्रदेश सभापतिमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, काभ्रे काँग्रेसका निवर्तमान सभापति मधु आचार्य, काठमाडौँ काँग्रेसका पूर्व सचिव राजुराज जोशी, सिन्धुली काँग्रेसका पूर्व सभापति मोहन बराल, काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, चितवन काँग्रेसका पूर्व सभापति रामकृष्ण घिमिरेलगायतको नाम प्रदेश सभापतिमा चर्चामा रहेको छ ।प्रधान सिटौला पक्षका, बस्नेत र बानियाँ देउवा पक्षका तथा आचार्य, जोशी, बराल, अर्याल र घिमिरे काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षधर हुनुहुन्छ ।
प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सभापति सभापति र प्रदेशका भातृ, शुभेच्छुक तथा सङ्घसंस्थाका प्रमुखहरु प्रदेश अधिवेशनका सदस्य हुने छन् ।
बामती प्रदेशको ६६ वटा क्षेत्रीय प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट केन्द्रीय अधिवेशनका लागि निर्वाचित महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सभापतिहरु, यस प्रदेशभित्रका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु र प्रदेशका भातृ, शुभेच्छुक तथा सङ्घसंस्थाका प्रमुखहरु गरी दुई हजार जनाभन्दा बढीको प्रदेश अधिवेशनबाट पदाधिकारी तथा कार्यसमिति सदस्य चयन गर्न मतदान गर्न पाउने छन् । प्रदेश अधिवेशन हुने जिल्लालाई केन्द्रीय समितिले आवास र खानाको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । केन्द्रले दिएको जिम्मेवारीअनुसार आवास र खानाको व्यवस्था गर्न तयारी थालिएको काँग्रेस मकवानपुरले जनाएको छ ।