एमालेले भोलि लिखुतामाकोसीमा नेतृत्व चयन गर्दै : अध्यक्षमा चार जनाको उम्मेदवारी

  • प्रकाशित मिति: मंगलबार, कार्तिक २३ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमालेले (भोलि)बुधबार लिखुतामाकोसी गाउँ कमिटीको नेतृत्व चयनका गर्दै छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि एमालेले कार्तिक ९ र १० गते दुईदिन प्रयास गरेको थियो । तर अध्यक्ष पदका लागि चार जना, उपाध्यक्ष, सचिव र उप–सचिव पदका लागि तीन÷तीन जनाले दाबी गरेपछि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने एमालेको प्रयास असफल भएको थियो । बुधबार लिखुतामाकोसीमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले बताउनुभयो । पार्टीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको छ, छलफलको अहिलेसम्मको अवस्थालाई हेर्दा चुनाव हुँने सम्भावना छैन सचिव श्रेष्ठले भन्नुभयो । यसअघि कार्तिक १० गते बुधबार लिखुतामाकोसी गाउँ कमिटी अध्यक्षका लागि भीमबहादुर तामाङ, दुर्गा बहादुर श्रेष्ठ, केशरबहादुर पौडेल र शिव प्रसाद न्यौपानेले उम्मेदवारी दिसक्नुभएको छ । उपाध्यक्षका लागि इन्द्रबहादुर बुढाथोकी, लीला बहादुर बस्नेत र दीपबहादुर गुरुङले उम्मेदवारी दिनुभएको छ भने सचिव पदका लागि रामकुमार पाण्डे,सुवास बोहरा र शेर बहादुर थापाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपसचिवमा रविन्द्र पौडेल, मिङ्मार तामाङ र विनोद खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ । लिखुतामाकोसी गाउँ कमिटीमा रहने सदस्यहरु भने सर्वसम्मत चयन भएका छन् ।