कोभिडलाई ध्यानमा राखेर शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सुझाव

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १६ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको नागरिक समाजले कोरोना भाइरस कोभिड–१९को जोखिमतालाई ध्यानमा राखेर स्वास्थ्य सेवा र शिक्षालाई थप प्रभावकारी बनाउन स्थानीय सरकारलाई सुझाव दिएको छ । सदरमुकाम मन्थलीमा मानवअधिकार संरक्षण सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले मंगलबार गरेको स्वास्थ्य तथा शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा जिल्ला बारका अध्यक्ष बिचार सिं तामाङ, गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेंल, अधिवक्ता बाबुकाजि दाहाल लगायतले अहिले कोरोना सङ्क्रमित घटेपनि जोखिम कायमै रहेकाले विद्यायल र भिडभाड बढी हुने स्थानमा कोरोना सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न मन्थली नगरपालिकालाई सुझाव दिनुभयो ।
दुई नगरपालिका र छ गाउँपालिकाको केन्द्र मन्थली नगरपालिकाले आफ्नो स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्ने र कोरोनाका कारण लामो समय शून्यमा झरेको शैक्षिक गतिविधिलाई ध्यानमा राखेर प्रभावकारी योजना सहितको शैक्षिक कार्यक्रम आवश्यक रहेको सहभागिहरुको सुझाव छ । कार्यक्रममा मन्थली नगरपालिका शिक्षा शाखाका प्रमुख हेमन्तकुमार बुढाथोकीले नगरपालिकाको शिक्षा क्षेत्रमा कोरोनाले पारेको प्रभावलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गराई विद्यालय स्तरमा प्रभावकारी पठनपाठन सञ्चालन गरिएको बताउनुभयो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयालले अहिलेसम्म मन्थली नगरपालिकामा लगभग ५१ हजार नागरिकमध्ये १६ हजार भन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको र नागरिकलाई खोप लगाउने कुरालाई प्राथमिकतामा राखेर तिहारपछि फेरी खोप अभियान सञ्चालन गरिने बताउनुभयो । नगरपालिकामा स्वास्थ्य सेवा प्रभावकारीताका लागि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पतालको रुपमा विकास गरी सञ्चालन गर्ने तयारी लगभग पूरा भएको बताउनुभयो । कार्यक्रम मानवअधिकारी संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न भएको हो ।