नेपाल फिफा वरीयतामा एक स्थान तल

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ४ २०७८
  • तामाकोशी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ । साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसंग बराबरी खेलेको थियो । भारतसंग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १५६ औं स्थानमा छ । यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान र बंगलादेश भने स्थान सुधार गर्दै क्रमशः १८६ औं र १८७ औं स्थानमा उक्लेका छन् । फिफाको प्रतिवन्धमा रहेको पाकिस्तानको वरीयता पनि एक स्थान सुधार हुँदै १९७ औं स्थानमा छ । श्रीलंका एक स्थान सुधार गर्दै २०४ औं स्थानमा उक्लेको छ ।