पूर्वप्रधानमन्त्री भट्टराइद्धारा सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय भएको दाबी

  • प्रकाशित मिति: सोमबार, असोज २५ २०७८
  • तामाकोशी

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा.भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारी माथि गोली चलाइनु सरकारको गलत कार्य भएको बताउनुभएको हो । सुकुम्वासीहरुको समस्या समाधानमा कुनैपनि सरकारको स्पष्ट नीति नहुँदाको परिणाम अहिले भोग्नुपरेको बताउँदै डा भट्टराईले वास्तविक सुकुम्वासीको पहिचान गरेर तत्काल दीगो समाधान खोज्न आग्रह गर्नुभयो ।
आफू सरकारमा रहदा उक्त प्रयास गरेको बताउँदै छोटो अवधि भएको र विरोध धेरै भएकाले पूरा गर्न नसकेको बताउनुभयो । बुटवलको मोतिपुरमा कतिपय हुकुम्वासी भए छानविन गर्नुपर्नेमा गोली चलाइनु समाधान नभएको उहाँको भनाई थियो ।सरकार विस्तारमा देखिएको विवाद ओली प्रवृत्ति जस्तै हुन लागेको भन्दै अहिलेको गठवन्धन सरकार विल्कुल फरक र विवाद रहित हुनुपर्नेमा उहाँको जोड थियो । साथै डा. भट्टराइले अहिलेको सरकार पूर्ण अवधिभर रहनुपर्ने र पुरा कार्यकाल पूरा नगरे राम्रो सन्देश नजाने उहाँको भनाई थियो ।