लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भोलि बस्ने बैठकमा प्रतिस्थापन विधेयकमार्फत बजेट पेश गर्ने तयारी गर्नुभएकोछ । यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।
साउन २८ गते माओवादी केन्द्रका कूलप्रसाद केसी नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद अजय शाहीसमेतको गठबन्धन सरकार बनेको थियो । नयाँ सरकार गठन भएको दुई महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन र नयाँ बजेट ल्याउन नसकेपछि सरकारको चर्को आलोचना हुँदै आएको थियो ।अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको सरकारका प्रवक्ता समेत रहनुभएको मन्त्री खड्काले बताउनुभयो । लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहु९सांस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना लगायतका नयाँ कार्यक्रम समेटेर बजेट ल्याउन लागिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो ।