रामेछापका सवै पालिकामा काँग्रेसको नयाँ नेतृत्व : असोज १४ गते प्रदेश र १६ गते जिल्ला अधिवेन

  • प्रकाशित मिति: सोमबार, असोज ११ २०७८
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्लाको दुई नगरपालिका र छ वटा गाउँपालिकामा सभापति चयन गरेको छ । आइतबार भएको गाउँ नगरको अधिवेशनले सवै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाको सभापतिमा शंखर अधिकारी सर्वसम्मतिले चयन हुनुभएको छ भने रामेछाप नगरपालिकामा कमलबिक्रम कार्की निर्वाचित हुनुभएको छ ।
जिल्लाको खाँडादेवी गाउँपालिकाको सभापतिमा तेज घिसिङ, उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार, गोकुलगङ्गा गाउँपालिकामा मणिकुमार लामा, सुनापति गाउँपालिकामा जनक खड्का, लिखुतामाकोसी गाउँपालिकामा भोजराज खड्का (सुन्दर) र दोरम्बा शैलुङ गाउँपालिकामा केशवकुमार लामा निर्विरोध निर्वाचित भएको काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताउनुभयो ।
काँग्रेस रामेछापले प्रदेश र जिल्ला अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । काँग्रेसको कार्यतालिका अनुसार यही असोज १४ गते बिहीबार प्रदेश (क) र (ख) अनि असोज १६ गते शनिबार जिल्ला अधिवेशन हुनेछन् । प्रदेश (क) को सभापतिमा निरोज खड्का र केशव महत, प्रदेश (ख)को सभापतिमा राजेश श्रेष्ठ, रामकृष्ण ढुङ्गेल र सौरभ केसीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यसैगरी जिल्ला सभापतिमा वर्तमान सभापति लवश्री न्यौपाने, महासमिति सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम) र नेता कृष्ण महतबिच प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाबाट प्रदेश तथा जिल्ला नृतृत्व चयनका लागि एक हजार २४० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भैसकेका छन् । जिल्लामा काँग्रेसको ११ हजार २२९ जना क्रियाशिल सदस्य छन् ।