जिल्ला अस्पताल रामेछापको गोदाममै थन्कियो पीसीआर मेसिन

  • प्रकाशित मिति: शनिबार, असोज २ २०७८
  • तामाकोशी

रामेछाप । पीसीआर विधिबाट कोरोना भाइरस कोभिड–१९ भएको र नभएको परीक्षण गर्ने मेसिन झण्डै डेढ महिनादेखी जिल्ला अस्पताल रामेछापको गोदाममा थन्किएको छ । बागमती प्रदेश सरकारको सहयोगमा गएको साउन २४ गते नै ल्याइएको मेसिन सञ्चालन गर्न सम्बन्धीत निकायको ढिला सुस्तीका कारण अस्पतालको गोदाममा थन्किएको हो । कोरोना परीक्षणका लागि काठमाडौं, सिन्धुली, काभ्रेको धुलिखेल लगायतका स्थानमा पठाउनुपर्ने बाध्यता छ, जिल्ला अस्पतालमा डेढ महिनादेखी पीसीआर मेसिन थन्किदा समेत सरोकारवाला बेखबर छन् मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाद प्रसाइले भन्नुभयो ।
प्रदेश सरकारको सहयोगमा प्राप्त भएको पीसीआर मेशिन सञ्चालनको तयारी भैरहेको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख दिपेन्द्र नारायण श्रेष्ठले बतानुभयो । मेशिन मात्रै आएर हुँदैन, त्यसको सञ्चालनका लागि भौतिक संरचना र दक्ष जनशक्तिको व्यवस्था पनि हुनुपर्छ, अहिले मेशिन राख्ने संरचना बनिसकेको छ, बागमती प्रदेशले जनशक्तिको व्यवस्था पनि गर्दैछ भन्ने जानकारी आएको छ , अब चाँडै जिल्लामा कोरोना परीक्षण सेवा सुरु हुन्छ उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा पीसीआर मेशिन राख्न र अक्सिजन प्लान्ट बनानका लागि भौतिक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भैसकेको छ । तीन हजार १२१ जनामा कोरोना सङक्रमण भएकोमा तीन हजार ८० जना कोरोना सङ्क्रमणमुक्त भैसकेका छन् भने अहिले १८ जना सक्रिय सङ्क्रमित छन् ।