रामेछापमा कांग्रेसको वडा अधिवेशन भदौ २३ गते, १ हजार २४० जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुँदै

  • प्रकाशित मिति: बिहिबार, भाद्र १७ २०७८
  • तामाकोशी

रामेछाप । नेपाली कांग्रेस रामेछापले जिल्लाका सवै वडाको अधिवेशन आगामि भदौ २३ गते बुधवार गर्दै छ । दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडामा हुने अधिवेशनका लागि कांग्रेसले लगभग तयारी पुरा गरिसकेको छ । जिल्लामा कांग्रेसको ११ हजार २२९ जना क्रियाशिल सदस्य छन् । पाँच हजार ७०० पुरानो क्रियाशील सदस्य रहेकोमा चार हजार ९३९ जनाको मात्रै नविकरण गराएको र छ हजार २७६ जना नयाँ क्रियाशिल सदस्य थप गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिती रामेछापले जनाएको छ । जिल्लाको ६४ वडाबाट एक हजार २४० जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुने कांग्रेस रामेछापका सचिव एक बहादुर बस्नेत (बिष्णु) ले जानकारी दिनुभयो । जिल्लामा खुल्लाबाट ७४५, जनजाति तर्फबाट २९१, खस आर्य तर्फबाट १ सय ७२ र दलित तर्फ ३२ जना गरी एक हजार २४० जना क्षेत्रिय प्रतिनिधि जिल्लाको नृतृत्व चयनका लागि निर्वाचित हुने उहाँको भनाई छ । कांग्रेसको विधानमा १ सय ५० भन्दा कम क्रियाशिल सदस्य भएको वडामा समावेशी सहित १५ जना र १ सय ५० मा थप १०० जना क्रियाशिल सदस्य भएको वडामा समावेशी सहित २५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ । जिल्लामा रहेका ६४ वडामा ६४ जना वडा सभापति निर्वाचित हुनेछन् भने उनीहरु पदेन क्षेत्रिय प्रतिनिधि हुनेछन् । अहिले रामेछाप कांग्रेस सभापतिका लागि वर्तमान सभापति लवश्री न्यौपाने, महासमिति सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम), नेता कृष्ण महत र अर्जुन कार्कीबिच प्रतिस्पर्धा हुने देखिएको छ । रामेछाप एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । त्यसैले कांग्रेसको विधान अनुसार नेतृत्वका लागि महाधिवेशन प्रतिनिध हुन आवश्यक छैन ।