चमेना गृहबाट रामेछाप जिल्ला सामुदायिक आँखा केन्द्रको सेवा सञ्चालन

  • प्रकाशित मिति: बुधबार, भाद्र १६ २०७८
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्ला सामुदायिक आँखा केन्द्रले चमेना गृहबाट आफ्नो सेवा सञ्चालन गरेको छ । अविरल वर्षापछि खसेको पहिरोले भदौ १३ गते भवन पूर्ण रुपमा क्षति गरेपछि तामाकोसी अस्पतालको चमेना गृहबाट आँखा केन्द्रले सेवा सञ्चालन गरेको हो । पहिरोले क्षति गरेको भोलिपल्ट भदौ १४ गतेबाट चमेनागृहबाट सेवा सञ्चालन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज उमेश तामाङले बताउनुभयो । ठुलो भवनबाट सेवा दिएको अवस्थामा चमेना गृहबाट सेवा सुरु गर्दा समस्या त धेरै भएका छन्, दुःखम सुखम गरेर दिएको सेवाबाट सेवाग्राही खुसी छन्, सेवाग्राही खुसी हुनुनै हाम्रा लागि ठुलो कुरा हो उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले दैनिक ४० जना सेवाग्राहीले जिल्ला सामुदायिक आँखा केन्दबाट सेवा लिइरहेका छन् । २१ वर्ष अघि तामाकोसी अस्पतालको समन्वयमा तिलगङ्गा आँखा केन्द्रको सहयोगमा जिल्ला सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको थियो । जिल्लाकै एकमात्र यो आँखा केन्द्र सञ्चालन भएपछि झण्डै चार हजार जनाको मोतिबिन्दकोु शल्यक्रिया गरिएको र रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लाका हजारौँ बिरामीलाई सेवा दिएको आँखा केन्द्रले जनाएको छ । पहिरोले भवन क्षति भएसँगै अहिले तामाकोसी अस्पतालको चमेना गृहबाट बिरामीको आँखा परीक्षण तथा उपचार भैरहेको आँखा केन्द्रका संस्थापक अध्यक्ष गोविन्द घिमिरेले बताउनुभयो । पहिरो खसेको भित्ता व्यवस्थापन गर्न मात्रै ४० लाख रुपियाँ रकम लाग्ने देखियो, वर्षादको समय सकिएपछि तिलगङ्गा आँखा केन्द्रबाट प्राविधिक टोली आउछन् , आर्थिक लगायत अन्य व्यवस्थापनलाई हेर्दा अबको छ महिना चमेना गृहबाटै जिल्ला सामुदायिक आँखा केन्द्र सञ्चालन हुन्छ उहाँले भन्नुभयो । तामाकोसी सेवा समितिले उपलव्ध गराएको जग्गामा तिलगङ्गा आँखा केन्द्रले ५० लाख रुपियाँको प्रीफ्याब भवन बनाइदिएको थियो भने सामुदायिक आँखा केन्द्रको अन्य व्यवस्थापनका लागि ४० लाख रुपियाँ खर्च भएको थियो ।



????????????????????????????????????