दोरम्बा हत्याकाण्ड भएको १८ वर्ष पुरा : पीडितले अझै न्याय पाएनन्

  • प्रकाशित मिति: सोमबार, साउन ३२ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग  गाउँपालिको दोरम्बा हत्याकाण्ड भएको १८ वर्ष पुरा भएको छ । २०६० साल साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको अवस्थामा कब्जामा लिएर तत्कालिन शाही नेपाली सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित माओवादीका २१ जना नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा समेत निकै चर्चा भएको थियो । दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवरसमा नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँकमिटीले सोमबार दोरम्बा शैलुङ्ग गाउँपालिका डाँडाकटेरीमा एक कार्यक्रम गरी हत्याकाण्डमा ज्यान गुमाएका शहीदहरुको सम्झना गरेको छ । कोरोनाका कारण भन्दै माओवादी केन्द्र रामेछापका अध्यक्ष मैनकुमार मोत्तलान (मदन) को प्रमुख आतिथ्यतामा जिल्लामा उपलब्ध केही नेता तथा कार्यकर्ताको सहभागीतामा कार्यक्रम गरी शहीदहरुको सम्झना गरिएको माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँकमिटीका अध्यक्ष हिरा श्रेष्ठले बताउनुभयो । कार्यक्रममा नेताहरुले दोरम्बा हत्याकाण्डमा ज्यान गुमाउने शहीदहरुको सम्झनामा बागमती प्रदेश सरकारको लगानीमा दोरम्बा शैलुङ्ग गाउँपालिकाको डाडाँकटेरीमा स्थापना गरिएको २१ जना शहीदहरको अर्धकदको शालिकलाई थप व्यवस्थापन गरी डाँडाकटेरीलाई युद्ध पर्यटनको क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
हत्याकाण्डमा ज्यान गुमाएका पीडितहरुले भने आफूहरुले अझै न्याय नपाएको गुनासो गरेका छन् । दोरम्बा हत्याकाण्डमा हत्या गरिएका शहीद पदमराज गिरी (असल), का छोरा कपिलराज गिरी आफुहरुले अहिलेसम्म न्याय नपाएको बताउनुहुन्छ । हरेक वर्ष साउन आउँछ, साउन ३२ गते दोरम्बामा हत्या गरिएका शहीदको स्मृतिमा आयोजना हुने औपचारिक साधारण कार्यक्रम पनि बिना तयारी हुन्छ उहाँले भन्नुभयो । दोरम्बा हत्याकाण्डमा सहिद भएका ती २१ जना र तीनका परिवार कहिल्यै पनि पार्टीको आँखामा नपरेको उहाँको गुनासो छ । हत्याकाण्ड गराउने तत्कालीन मेजर राममणी पोख्रेल र उनका पूरा टिम अनि घटनाका दोषीमाथि अझै कारबाही भएको छैन, नेता टंकलाल घिसिङको सहजिकरणमा सर्वाेच्च अदालतमा उजुरी दिएको पनि धेरै भईसक्यो, तर, त्यसको खोजी तथा सुनुवाइ अहिलेसम्म भएको छैन उहाँले भन्नुभयो ।
२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीबीच दोस्रो चरणको वार्ता चलिएरहेको अवस्थामा दोरम्बामा बैठक बसिरहेको घरबाट कब्जामा लिएर रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’, अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ (छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवराज मोक्तान र लिला मोक्तानको सामुहिक हत्या भएको थियो ।