उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०७८ बाट श्रेष्ठ सम्मानित

  • प्रकाशित मिति: बुधबार, साउन २७ २०७८
  • तामाकोशी

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवसका अवसरमा (फोनिज) रामेछापले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०७८ पत्रकार युवराज श्रेष्ठलाई प्रदान गरेको छ । फोनिजको २२ औँ स्थापना दिवसमा बुधबार जिल्लाको खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी फोनिज बागमती प्रदेशका उपाध्यक्ष समेत रहनुभएका पत्रकार श्रेष्ठलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर प्रमाण पत्रले सम्मान गरेको हो । पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, पत्रका महासंघ रामेछापका अध्यक्ष बद्रीनयाँघरे लगाएले दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको थियो । स्थानीय रेडियो तामाकोशीको प्रवन्धक , न्युज २४का जिल्ला रिपोर्टर र पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष समेत रहनुभएका श्रेष्ठ विगत १५ वर्षदेखी निरन्तर पत्रकारितामा हुनुहुन्छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष तामाङले फोनिजले पत्रकारहरुको अन्य संगठनहरुले भन्दा नयाँ र फरक काम गरेर देखाउनुपर्ने बताउनुभयो । अब पत्रकारहरुले लेख्ने सामाचार खोजमूलक हुनुपर्छ, फोनिजमा आवद्ध पत्रकारहरुले खोजमूलक पत्रकारिता गरेर फरक पहिचान बनाउनुपर्छ अध्यक्ष तामाङले भन्नुभयो । गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले पत्रकारहरले सही कुरालाई विश्लेषण गरी खोजी खोजी लेखिने समाचार मार्फत नागरिक सुसूचित हुने भएकाले खोजमूलक पत्रकारितामा जोड दिन फोनिजमा आवद्ध पत्रकारलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले फोनिजले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारले पत्रकारहरुलाई थप क्रियासिल बनाएको बताउनुभयो । फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठले फोनिजे स्थानीय सरकार लगायत सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गरी आफ्नो गतिविधि अगाडी बढाइरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस सेन्टर रामेछापका संयोजक निरोज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७८ वितरण तथा चियापान कार्यक्रम फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता र खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।(फोनिज) रामेछापले पत्रकार सुमित श्रेष्ठको सहयोगमा स्थापना गरेको अक्षयकोष मार्फत हरेक वर्ष एक जना आदिवासी जनजाति पत्रकारलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।