रामेछापमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४३ जना सङ्क्रमित थपिए

  • प्रकाशित मिति: शुक्रबार, साउन १५ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लामा हालसम्म कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । जिल्लाबाट रिफर भै काठमाडौमा उपचाररत एक महिलाको शुक्रबार मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिका वडा नं ७ की ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
पछिल्लो समयमा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा शुक्रबार एकैदिन ८९ जनामा कोरोना परीक्षण गर्दा ४३ जनामा कोरोना देखिएको छ । शुक्रबार जिल्ला अस्पतालमा आठ जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, खाँडादेवी गाउँपालिकामा चार जना, गोकुलगङ्गा गाउँपालिकामा १३ जना, दोरम्बा शैलुङ गाउँपालिकामा तीन जना, र तामाकोसी अस्पतालमा १३ जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाले बतउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार ६५१ जनामा कोरोना पुष्टि भएकोमा दुई हजार ४३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १९४ जना कोरोनाका संक्रिय सङ्क्रमित छन् ।